किन बढ्यो उपत्यकामा ट्राफिक जाम, कसरी समाधान होला ?

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन निकै समस्या बन्दै गएको छ । उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापनको लागि सडक विभाग र ट्राफिक प्रहरीले ठोस योजना निर्माण गर्न सकेका छैनन् ।

उपत्यकाको ग्वार्खो, कोटेश्वर, चाबहिल, महाराजगंज, बालाजु, त्रिपुरेश्वर, कालिमाटी, पुतलीसडक जस्ता व्यस्थ स्थानमा मात्रै देखिने जाम अहिले करिडोर लगायतका स्थानमा पनि देखिन थालेको छ ।

हामीले देखेको ट्राफिक जामको मुख्य कारण चालक लापर्वाही र कमजोर पूर्वाधार नै हो । ट्राफिक प्रहरीले आफ्नो आँखा अगाडि नै गल्ती गरेका चालकलाई पनि कारवाही नगर्दा यसरी गल्ती गर्ने चालकले हरेक पटक गल्ती गर्ने गरेको देख्न सकिन्छ ।

अर्को वैकल्पीक पूर्वाधार निर्माण गर्ने विषयमा राज्यले सोचेकै छैन । उपत्यकाका १० देखि १२ स्थानमा ओभर पास र अन्डर पास नबनाउने हो भने अबको दिनमा गाडी चलाउन सक्ने अवस्था छैन ।

नेपालमा अहिले दैनिक ५० देखि ६० बटा चार पाङग्रे र दैनिक ५ यसभन्दा बढी संख्यामा दुई पाङ्ग्रे सवारी साधन थपिने गरेको छ । सडकमा गुड्ने सवारी साधन बढ्दो क्रममा रहे पनि त्यस अनुसार सडक पूर्वाधार विकास हुन नसकेको उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायव उपरिक्षक सुनिल जंग शाह बताउँछन् ।

अहिले पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन म्यानुयल गरिरहेको भन्दै शाह भन्छन्, ‘ट्राफिकले चोकहरुमा आलोपालो मिलाएर सवारी व्यवस्थापन गरेपनि पुर्वाधार अभाव हुँदा जाम हटाउन सकिएको छैन ।’

उनले अबको समयमा ट्राफिक जाम व्यवस्थापन गर्न चोक-चोकमा फ्लाईओभर, आकाशेपुल, फुटपाथ लगायतका पुर्वाधार निर्माण गर्नु पर्ने बताए । सडकमा पार्किङ भएकाले पनि धेरै क्षेत्रमा समस्या रहेको उनको बुझाई छ ।

काठमाडौंका मुख्य बाटोका छेउमा रहेका पेट्रोल पम्पहरुले पनि जाम गराइरहेका छन् । उपत्यका भित्रका मुख्य सडकमा पर्ने केही पेट्रोल पम्पलाई नियम विपरित निर्माण भएको भन्दै बन्द गर्न वा अन्यत्र सार्न भनिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

विगतमा काठमाडौं महानगरपालिका, आयल निगम र ट्राफिक प्रहरीले जाम व्यवस्थापनका लागि उपत्यका सडक छेउमा रहेका पेट्रोल पम्प अन्यत्र सार्न ठूलै अभियान चलाएको थियो ।

नायव उपरिक्षक शाहले पैदल यात्रु हिड्ने बाटोमा पेट्रोल पम्प हुँदा तथा पेट्रोल हाल्न सोहि स्थानमा लानुपर्दा समेत सडकमा बारम्बार जाम सृजना हुने गरेको बताए ।

करिडोर निर्माण पछि धेरै चालकले प्रयोग गर्न थालेपनि करिडोरमा बनेका अन्डर ग्राउण्ड क्रसिङ साना र होचा रहेकाले गाडी धेरैले पुनः पुलमा उक्लनु पर्ने अवस्था रहेको छ । त्यसले पनि थप जाम सृजना भएको देखिन्छ ।


Back_to_top