काठमाडौं । चर्चित भारतीय अटो उत्पादक कम्पनी बजाजले उत्पादन सुरु गरेको सस्तो मूल्यको ‘क्युट’ कार आगामी महिना भारतमा सार्वजनिक हुने भएको छ ।
मोटरसाइकल र अटो रिक्सा उत्पादनमा निकै चर्चा कमाएको बजाजको कार सेग्मेन्टमा उपस्थिति यो नै पहिलो हो यसको मूल्य कम्पनीले १ लाख २० हजार भारतीय रुपैयाँ तोकेको छ ।
यो पनि पढ्नुस्: आयो होन्डा HR-V फेसलिफ्ट, यस्ता छन् विशेषता
अन्तर्राष्ट्रिय बजारमा निकै अगाडिदेखि निर्यात गरिरहेको यो कार भारतीय बजारमा आउन निकै समय लागेको हो । अब कम्पनीले अटो रिक्साको बिकल्पमा यो कारलाई अगाडि ल्याएको छ ।
उक्त कारले ३६ किलोमिटर माइलेज दिने र अहिलेसम्म बनेका कारहरु मध्ये सबैभन्दा कम प्रदुषण गर्ने कम्पनीको दाबी रहेको छ ।
बजाज ‘क्युट’ नाम दिइएको कार २७५२ मिलिमिटर लम्बाई, चौडाई १३१२ मिलिमिटर, उचाईं १६५२ मिलिमिटर र ह्विलबेस १९२४ मिलिमिटर रहेको छ ।
विभिन्न ६ रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेयरिङ, वाइपर विन्डो, विद्युतीय मिटर र अडियो सिस्टम जस्ता विशेषता पनि छ ।
सानो क्षमताको इन्जिन भए पनि कारका रुपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ । यो कारमा २१६.६ सिसिको इन्जन जडान गरिएको छ, जुन बजाज २२० पलसरको भन्दापनि कम हो । अन्य कारको तुलनामा यो कार निकै हलुको रहेको छ । यसको कुल तौल ४५० केजी रहेको छ ।
डिजिटल ट्राइस्पार्क फोर भल्व इन्जिन राखिएको कारमा ०।२ लिटरको वाटरकुल्ड इन्जिन छ भने, ५ वटा गियरबक्स रहेको छ । कारको अधिकतम स्पिड क्षमता ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यस अघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।
यहि क्रममा नेपाली बजारमा प्रबेश गर्ने आँकलन सबैले गरेका होलान तर, यो कार नेपाली बजारमा भने आउने छैन ।
यस कारको बिषयमा जिज्ञासा राख्दा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले यो अटो रिक्साको बिकल्पमा आउन लागेकाले नेपाली बजारमा कारको रुपमा नआउने बताए ।


