यस्तो छ १० ठूला कार निर्माताको विद्युतीय कार उत्पादन गर्ने योजना

काठमाडौं । विश्व अटोमोबाइल बजारमा सर्वाधिक चर्चामा रहेको विद्युतीय कार कम्पनीहरुको योजना एकपछि अर्को सार्वजनिक हुँदैछ । विश्वकै ठूलो कार उत्पादक टोयोटाले १५ नयाँ कन्सेप्ट कार सार्वजनिक गर्दै सबैभन्दा पछिल्लो समय आफ्नो योजना बाहिर ल्याएसँगै अब नाम चलेका ब्राण्डहरुले विद्युतीय गाडी उत्पादनमा कसरी काम गर्दैछन् भन्ने तरंग सुरु भएको छ ।

विश्वका ठूला कार निर्माता टोयोटा, फक्सवागेन, फोर्ड, जनरलमोटर्स, हुन्डाई, किया, बीएमडब्लू, बेन्ट्ले, ज्यागुअर ल्याण्डरोभर, माज्दा, मर्सिडिज बेञ्ज, मित्सुबीसी, रोल्स रोयस, भोल्भो जस्ता ब्राण्डले आफ्नो योजना सार्वजनिक गरिसकेका छन् ।

अधिकांश कम्पनीले सन् २०२५, २०३० र २०३५ सम्मको योजना बाहिर ल्याएर इभी विकासमा थप लगानी सुरु गरेका छन् । यो दौडमा टेस्ला, बीवाइडी जस्ता कम्पनीदेखि नयाँ नयाँ स्टार्टअप कम्पनीहरु सहभागी भइसकेका छन् । यस्तोमा अटोमोबाइल उत्पादनमा जरो गाडेर बसेका कम्पनीले कसरी काम गरिरहेका छन् भन्ने चासो हुनु स्वभाविक हो ।

जर्मन ब्राण्ड फक्सवागनले इभी विकासमा सन् २०२५ सम्ममा ८६ बिलियन डलर लगानी गर्ने घोषणा गरेको छ । कम्पनी सन् २०५० बाट पूर्णरुपमा विद्युतीय गाडी मात्रै उत्पादन गर्ने योजना बनाएर ७० नयाँ मोडल उत्पादन गर्ने जनाएको छ । फक्सवागनले सन् २०३० सम्म आफुले विक्री गर्ने भेहिकलको ५० प्रतिशत इलेक्ट्रीक बनाउने योजना बनाएको छ । साथै, कम्पनीले सन् २०२६ पछि कम्बस्चन इन्जिनमा कुनैपनि नयाँ मोडल नल्याउने घोषणा गरेको छ ।

जापानी कार उत्पादक टोयोटाले सन् २०२५ सम्ममा तीन नयाँ मोडल बजारमा ल्याउने जनाएको छ भने सन् २०३० सम्ममा १५ मोडल बजारमा ल्याउने जनाएको छ । सन् २०३० सम्ममा वार्षिक ३५ लाख विद्युतीय कार विक्री गर्ने योजना टोयोटाले बाहिर ल्याएको छ । कम्पनीले कम्बस्चन इन्जिन बन्द गर्न भने सन् २०५० सम्म लाग्ने जनाएको छ ।

कोरियन कार निर्माता हुन्डाई÷कियाले सन् २०२५ सम्ममा २३ नयाँ मोडल बजारमा ल्याउने घोषणा यसअघि नै गरेका छन् । उनिहरुले त्यसको लागि ७.४ बिलियन डलर लगानी गर्ने जनाएका छन् । हुन्डाई र किया अहिले पनि इलेक्ट्रीक कार उत्पादनमा अग्रणी कम्पनी हुन् ।

जापानी कार निर्माता होन्डाले सन् २०५० सम्ममा पूर्ण विद्युतीय कार मात्रै विक्री गर्ने योजना बनाएको छ । त्यसको लागि कम्पनीले केही समयअघि विद्युतीय कारको कन्सेप्ट कार सार्वजनिक गरेको थियो । कम्पनीले सन् २०२४ सम्ममा २ नयाँ मोडल बजारमा ल्याउने योजना बनाएको छ ।

अमेरिकी मोटर कम्पनी जनरल मोटर्सले सन् २०४० भित्रै कम्बस्चन इन्जिनको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले इभी विकासको लागि सन् २०२५ भित्रै ३५ बिलियन डलर लगानी गर्ने जनाएको छ ।

अर्को अमेरिकी कम्पनी फोर्डले सन् २०५० सम्ममा पूर्ण विद्युतीय कार मात्रै उत्पादन गर्ने घोषणा गरेको छ । कम्पनीले इभी विकासमा सन् २०२५ भित्रै २२ बिलियन डलर लगानी गर्ने जनाएको छ । फोर्ड आफ्नो कुल विक्रीको ७६ प्रतिशत विद्युतीय गाडी सन् २०३५ भित्रै पुर्याउने योजना अगाडि सारेको छ ।

जर्मन लग्जरी कार निर्माता कम्पनी बीएमडब्लूले सन् २०२५ भित्रै २० लाख यूनिट विद्युतीय भेहिकल पुर्याउने जनाएको छ । त्यसको लागि कम्पनीले करिब ७ बिलियन डलर लगानी गर्ने जनाएको छ । बीएमडब्लूले यो घोषणा सन् २०१९ मा नै गरेको हो ।

मर्सिडिजले पनि इलेक्ट्रीक कार उत्पादनलाई तिब्रगतिमा अघि बढाएको छ । कम्पनीले सन् २०३५ सम्ममा विद्युतीय कारको संख्या ८० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य लिएको छ ।

बेन्ट्ले र रोल्स रोयस जस्ता कम्पनीले पनि सन् २०३० बाटै पूर्ण विद्युतीय गाडी उत्पादन गर्ने घोषणा गरेका छन् ।


Back_to_top