मोटरसाइकल डिजाइनमा नेपाली युवाको छलाङ, अब मूल्य घटाउने चुनौती

काठमाडौं । सन् २०१९ को अन्तिममा युवा इन्जिनीयर अशिम पाण्डेसँग बालुवाटरको उनकै अफिसमा भेट भयो । उमेरले २८/२९ वर्षका एक युवा टाउकोमा कालो क्यापमा लगाएर मोटरसाइकलको पार्टस् नियाल्दै थिए ।

सोसल मिडियामा यात्री ब्राण्ड ‘कमिङ सून….’ देखेर के रहेछ भनेर खोजी गरिरहेको मलाई एक जना व्यवसायीले नेपाली युवाहरूले यात्री ब्राण्डमा मोटरसाइकल बनाउन लागेको जानकारी दिएका थिए । भरपर्दो मानिसले सूचना दिएसँगै पाण्डेको मोबाइल नम्बर लिएर म निस्किएको थिएँ ।

नेपाली व्यवसायी र राजनीतिमा पनि फरक पहिचान बनाएका विक्रम पाण्डेको बालुवाटारमा रहेको अफिसको एउटा फ्ल्याटमा यात्रीले अफिस बनाएको थियो । त्यसलाई सहयोग गरेका थिए युवा व्यवसायी निकोलस पाण्डे र वत्सल पाण्डेले । अहिले अफिस कत्रो छ म त्यहाँ पुगेको छैन । त्यही अफिसमा अशिम पाण्डेसँग भेट भएको थियो ।

नेपालमा विद्युतीय सवारी साधन प्रतिको बढ्दो मोह, सरकारी नीति र ऊर्जाको अथाह सम्भावनाले यस्ता थुप्रै यात्री नेपालमा जन्मिने अपेक्षा गर्न सकिन्छ ।

पाण्डेले आफ्नो योजना सुनाउँदै भने, ‘विश्व प्रसिद्ध कार ब्राण्डको डिजाइनर भएर काम गर्ने आफ्नो योजना थियो । केही वर्ष यूरोपमा काम पनि गरेँ । नेपालमा अटोक्षेत्रमा कसैले पनि उत्पादनको प्रयास नगरेको देखेर यही केही गरौं भनेर फर्के । अब यही काम गर्छु र आफ्नो उत्पादनलाई चिनाउँछु ।

उनले यति भन्दै गर्दा उनको अनुहारमा नेपालमै केही गर्ने अठोट पढ्न सकिन्थ्यो भने त्यसलाई पूरा गर्ने योजना पनि भएको भान हुन्थ्यो ।

त्यतिबेला यात्रीले प्रोजेक्ट जिरो अर्थात् ‘पी-०’ मोडलको तयारी गरिरहेको थियो । कम्पनीले कन्सेप्ट सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा मैले उनलाई भेटेको थिएँ । पछि कन्सेप्ट सार्वजनिक भयो । अन्तर्राष्ट्रिय मिडियामा पनि नेपाली पहिलो मोटरसाइकल ब्राण्ड भनेर राम्रो कभरेज पाएको थियो । त्यो कभरेजपछि मैले यात्रीको पहिला अगाडि बढेको अनुभव गरेको थिएँ ।

अहिले पी-० पूरा हुन लागेको खबर सुन्दा एउटा यूवाले तीन वर्ष पहिले गरेको अठोट पूरा हुन लागेकोमा मलाई पनि खुसी बनाएको छ । यात्रीले ५० यूनिट ‘पी-०’को स्पेशल एडिसन तयार गरेको छ । मूल्य हिसाबले करिब २० लाख रुपैयाँ पर्ने यो मोटरसाइकल आम मानिसको पहुँचमा पुग्ने कुरै भएन । तर, मोटरसाइकलका शौखिन र नेपाली युवा टीमले बनाएको मोटरसाइकल भनेर किन्ने सबै ग्राहक यात्री टीमको हौसलाका स्रोत हुन् । त्यही हौसलाको कारण यात्रीले ‘पी-१’ प्रोटेक्ट अगाडि ल्यायो ।

‘पी-१’ विक्रीमा नआउँदै यात्रीलाई स्थापित गर्न सफल मोडल भएको छ । यसकै कारण यात्री धेरै मोटरसाइकल पारखीको बीचमा स्थापित भइसकेको छ । अझ विद्युतीय सवारी साधनको अभियन्ताहरूको बीचमा त यसले आफूलाई एक स्थान माथि उकाल्न सफल भएको छ ।

डबल स्पोर्टस् डिजाइनमा तयार भएको पी-१ हेर्दा साधारण छ तर, यसको पर्फमेन्स, टेक्नोलोजी र कन्सेप्टमा संसारका कुनै पनि चल्तीका ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ ।

अहिले अशिम पाण्डे लगायतका युवा टिम प्रोडक्ट डेभलपमेन्ट, डिजाइनिङ लगायतका काममा व्यस्त छन् । यसको व्यवसायिक नेतृत्व वत्सल पाण्डेले सीईओको रूपमा गर्दै आएका छन् ।

सन् २०२२ को सुरूआत यात्रीको लागि निकै सुखद, अस्मरणीय र आफ्नो सोचलाई पूर्णता दिएको बिर्सन नसकिने दिनको रूपमा आउने छ भने सँगै थप चुनौती र अवसरको ढोका खुल्ने छ ।

कम्पनीले मास मार्केटलाई ध्यानमा राखेर विक्री सुरू गर्न लागेको पी-१ को मूल्य ५ लाख हाराहारी छ । तर, उसलाई ३ लाख हाराहारीमा नेपालीले चढ्न सक्ने मोटरसाइकल उत्पादन गर्नु पर्ने हुन्छ । सायद यही कुरालाई ध्यानमा राखेर होला यात्रीले ‘पी-२’ पनि घोषणा गर्ने तयारी गरिरहेको छ । कम्पनीले पी-२ मा इलेक्ट्रीक स्कुटर बनाउने आफ्नो अवधारण पत्रमा उल्लेख गरेको पाइन्छ ।

नेपालमा विद्युतीय सवारी साधन प्रतिको बढ्दो मोह, सरकारी नीति र ऊर्जाको अथाह सम्भावनाले यस्ता थुप्रै यात्री नेपालमा जन्मिने अपेक्षा गर्न सकिन्छ ।

 


Back_to_top