सुजुकी टु ह्वीर्लसको सबैभन्दा स्टाइलिस स्कुटर वर्गम्यान स्ट्रिट १२५ भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई हिजो जुलाई १९ मा सार्वजनिक गरेको हो । नयाँ वर्गम्यान स्ट्रीट सुजुकीको हालसम्मकै सर्वाधिक स्टाइलिस स्कुटर रहेको कम्पनीको दाबी गरेको छ ।
भारतीय बजारमा सार्वजनिक भएसँगै स्कुटरको मूल्य ६८ हजार भारु तोकिएको छ । यसमा १२५ सीसीको सिङ्गल सिलिन्डर एसओएचसी, फोर स्ट्रोक इञ्जिन रहेको यो स्कुटरको इञ्जिनले १० बीएचपीको पावर उत्पादन गर्नेछ । १२५ सीसीको क्षमताको अटोमेटिक सुजुकी वर्गम्यान स्ट्रीट म्याक्सी स्कुटर हो ।
दिल्ली मोटर शोमा यसअघि शोकेस गरिएको यो स्कुटर निकै स्टाइलिस र स्पोर्टी स्कुटरको सेग्मेन्टमा पर्नेछ । यसको नेपाली बजारमा मूल्य करिब २ लाख पर्ने अनुमान गर्न सकिन्छ ।
म्याक्सी स्कुटर एक प्रकारको टुरिङ स्कुटर हो, जसले हावाबाट चालकलाई बचाउँछ । त्यसको लागि स्कुटरको अघिल्लो भागमा विशेष प्रकारको डिजाइन गरिएको हुन्छ र सामान्य स्कुटरभन्दा बढी आरामदायी हुन्छ ।
यसअघि भारतीय बजारमा १६५ सीसीको काइनेटिक ब्लेजलाई म्याक्सी स्कुटरको रुपमा ल्याइएको थियो तर, पछि यसको उत्पादन नै बन्द भएको थियो ।
नेपाली बजारमा पनि नाडा अटो शोको समयसम्म यो स्कुटर आउने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा सुजुकी टु ह्वीलरको बिक्री वितरण सुजुकी भिजीले गर्दै आएको छ ।

