पीकअपको ठूलो बजार अमेरिका, यी हुन् धेरै विक्री हुने ५ मोडल

काठमाडौं । चीनपछि विश्वकै प्यासेन्जर गाडीको ठूलो बजार अमेरिकामा पीकअपको विक्री सबैभन्दा धेरै हुने गरेको छ । अमेरिकामा सर्वाधिक धेरै विक्री हुने टप ५ मोडलमा तीनवटा पीकअप रहेका छन् ।

अमेरिकी बजारमा निकै अगाडिदेखि चर्चित रहेको पीकअप अहिले एशियाली बजारमा पनि निकै राम्रो संख्यामा विक्री हुन थालेको छ । नेपालमा पनि पछिल्ला ५ महिनामा १ हजार ५०० यूनिट डबल क्याव पीकअप आयात भइसकेको छ । यसले नेपालमा पनि पीकअपको बढ्दो लोकप्रियतालाई देखाउँछ ।

अमेरिकी बजारमा सेभ्रोलेट, फोर्ड जस्ता कम्पनीले उत्पादन गर्ने पीकअप सर्वाधिक रुचाइने मोडलमा पर्छन् । कोभिड १९ को संक्रमणका बाबजुद अमेरिकी बजारमा पीकअपको विक्री निकै राम्रो संख्यामा देखिएको छ ।

५. सिरीया पीकअप

जनरल मोटर्सले उत्पादन गर्ने सिरीया मोडलको पीकअप सन् २०२१ मा २ लाख ४८ हजार ९२४ यूनीट विक्री भएको छ । यो पीकअप तीनवटा इन्जिन अप्सनमा अमेरिकी बजारमा विक्री वितरण हुन्छ । यसमा २.७ लिटरको टर्बो चार्ज्ड फोर सिलिण्डर, ५.३ लिटर भि८ र ६.२ लिटर इन्जिन अप्सनमा उपलब्ध रहेको छ । आफ्नो सफल मोडल सिरीयालाई जनरल मोटर्सले सन् २०२२ भित्र अपडेटेड गर्ने तयारी गरिरहेको छ । कम्पनीको अनुसार नयाँ सिरीयामा १५ सय थरीको अपडेट गरिने छ ।

४. टोयोटा टाकोमा

अमेरिकी अटोबजारमा धेरै विक्री हुने पीकअपको सूचीमा जापनीज अटो कम्पनी टोयोटाको टाकोमा मोडल परेको छ । टोयोटाको टाकोमा सन् २०२१ मा २ लाख ५२ हजार ५२० यूनिट विक्री भएको थियो । टोयोटा टाकोमाको विक्री सन् २०२० को दाँजोमा ६ प्रतिशतले बढेको हो ।

३. सेभ्रोले सिल्भेराडो

अमेरिकी बजारमा धेरै रुचाइएको अर्को पीकअप सेभ्रोले सिल्भराडो हो । धेरै विक्री हुने पीकअपको तेस्रो स्थानमा रहेको सिल्भेराडो सन् २०२१ मा ५ लाख १९ हजार ७७४ यूनीट विक्री भएको थियो । सेभ्रोलेको सिल्भेराडोको विक्री सन् २०२० को तुलनामा सुखद रहन सकेन । सिल्भेराडोको लाइट ड्यूटी मोडलको विक्री १३ प्रतिशतले कम तथा एचडी भर्सनको विक्री ८ प्रतिशतले घटेको थियो ।

२. राम पीकअप

पीकअप विक्रीको दोस्रो स्थानमा राम कम्पनीको पीकअप रहेको छ । राम पीकअप गत वर्ष ५ लाख ६९ हजार ३८८ यूनिट विक्री भएको हो । सन् २०२० को तुलनामा राम पीकअपको वजार १ प्रतिशतले बढेको हो ।

१. फोर्ड एफ सिरीज

अमेरिकी पीकअप बजारको एक नम्बरमा अमेरिकी अटोमोवाइल कम्पनी फोर्डको एफ सिरीज रहेको छ । कुनै समय १० लाख यूनिटको विक्री तथ्यांक भेट्टाएको एफ सिरिज विश्व अटोबजारमा माइक्रो चिपको सर्टेजको चुनौती पन्छाउन सफल भएको देखिन्छ । कम्पनीले सन् २०२१ मा एफ सिरीज पीकअप ७ लाख २६ हजार ४ यूनिट विक्री गर्न सफल भएको हो । यद्यपी फोर्डको पीकअप विक्री अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले घटेको हो ।


Back_to_top