काठमाडौं । टाटा मोटर्सले सन् २०२० मा भएको दिल्ली अटो शोमा देखाएको सिएरा इलेक्ट्रीक भर्सनमा मात्रै आउने खबरहरु बाहिर आएका छन् । टाटाले अबको ५ वर्ष भित्र ल्याउने १० नयाँ इलेक्ट्रीक कारमा सिएरा पनि एक मोडल हुने बताइएको छ ।
टाटाले भारतमा विद्युतीय कार विक्रीमा अग्रता लिइसकेको छ । अहिले नेक्सन र टिगोर इभीको विक्री गर्दै आएको कम्पनीले चाँडै अल्ट्रोज इभी बजारमा ल्याउने तयारी गरिरहेको छ । अल्ट्रोज पछि टाटाले पन्चलाई इलेक्ट्रीक भर्सनमा ल्याउने बताइएको छ ।
यसको साथै टाटाले कुपे डिजाइनमा ४.३ मिटरको अर्को एसयूभी तयार गरिरहेको रिपोर्टहरु केही दिन अघि बाहिर आएको थियो । सम्भवत टाटाले सिएरालाई सन् २०२५ मात्रै बजारमा ल्याउने अनुमान गरिएको छ ।
टाटाले इलेक्ट्रीक सवारी उत्पादनको लागि छुट्टै कम्पनी बनाएर काम सुरु गरिसकेको छ । यस्तोमा सिएरा कम्पनीको लागि इलेक्ट्रीक भर्सनमा मात्रै आउने पहिलो मोडल बन्न सक्छ ।
टाटा सिएरामा रहने टेक्नीकल डिटेलको विषयमा अहिले कुनै किसिमको जानकारी बाहिर आएको छैन ।


