काठमाडौं । भारतीय कम्पनी रेभोल्ट इलेक्ट्रीकले उत्पादन गरेको मोटरसाइकल अहिले भारतमा निकै आक्रमक बजार विस्तारको रणनीतिमा रहेको छ । कम्पनीले आफ्नो उत्पादन क्षमता वृद्धि गरेसँगै अब यसको उपस्थिति भारत बाहेक अन्य देशहरुमा पनि हुने भएको छ ।
सन् २०२० देखि नै विभिन्न व्यवसायीक घरानाले यसलाई नेपाल ल्याउने प्रकृया अगाडि बढाएको भएपनि अझै कस्ले ल्याउँछ भन्ने एकिन भएको छैन । रेभोल्ट इन्टेलीकर्पले भारतकै पहिलो इलेक्ट्रीक मोटरसाइकल रेभोल्ट आरभी ३०० र आरभी ४०० उत्पादन गरिरहेको छ ।
कम्पनीले ल्याएको यी दुबै मोटरसाइकलमा आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरेको छ । मोवाइल एपबाटै यसमा रहेको हाईटेक फिचरहरु कन्ट्रोल गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीे रेभोल्ट आरभी ४०० मा ७२ भोल्ट, ३.२४ किलोवाट आवरको लिथियन आयन ब्याट्री प्रयोग गरेको छ । साथै, रेभोल्ट आरभी ३०० मा २.३ किलोवाट आवरको ब्याट्री दिइएको छ ।
कम्पनीले ल्याएको दुबै मोटरसाइकलको रेन्ज ८० देखि १८० किलोमिटरसम्म रहेको छ । ड्राइभिङ मोड अनुसार फरक रेन्ज उपलब्ध हुनेछ । आरभी ४०० मा ३ किलोवाटको मोटर जडान भएको छ भने आरभी ३०० मा १.५ किलोवाटको मोटर दिइएको छ ।

आरभी ४०० लाई ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुडाउन सकिन्छ भने आरभी ३०० को टप स्पीड ६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
कम्पनीले आरभी ४०० र ३०० दुबै बाइकको अगाडि अपसाइड डाउन फर्क र पछाडि एड्जस्टेवल मोनोशक दिएको छ ।
रेभोल्ट आरभी ४०० को अगाडि र पछाडिका दुबै चक्कामा २४० एमएमको डिस्क ब्रेक दिइएको छ भने आरभी ३०० को अगाडि चक्कामा २४० एमएम र पछाडीको चक्कामा १८० एमएमको डिस्क ब्रेक दिइएको छ ।
रेभोल्ट आरभी ४०० को ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ भने आरभी ३०० को ग्राउन्ड क्लियरेन्स २२५ एमएम रहेको छ । तौलको कुरा गर्दा आरभी ४०० को ३०० भन्दा केही बढी छ । एउटाको तौल १०८ केजी छ भने अर्कोको १०१ केजी रहेको छ ।
दुबै मोटरसाइकलमा तीन ड्राइभिङ मोड रहेका छन् । जसमा इको, नर्मल र स्पोर्ट ड्राइभिङ मोड दिइएको छ ।


