यस्ता छन् किया ‘कारेन्स’का मुख्य विशेषता

काठमाडौं । किया मोटर्सले गत डिसेम्बरमा देखाएको ‘कारेन्स’ले भारतमा एकै दिन ७ हजार यूनिट बुकिङ लिएर धेरै मानिसको ध्यान खिच्न सफल भएको थियो ।

कियाले भारतीय बजारलाई हेरेर बनाएको पहिलो एमपीभी भएकै कारण यसमा धेरै मानिसको चासो हुनु स्वभाविक पनि थियो । यो गाडी भारतमा सार्वजनिक हुनुअघि नै नेपाल ल्याउन कन्टिनेन्टल ट्रेडिङले पनि तयारी थालेको कारण यो कार नेपालमा पनि चाँडै आउने अनुमान गरिएको छ ।

बुकिङ खुल्ला भएको २४ घन्टामा नै ७ हजार ७३८ यूनिट बुकिङ भएको ‘कारेन्स’ एमपीभीमा के कस्ता फिचर छन् भन्ने विषयमा यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

डिजाइनः किया ‘कारेन्स’ बाहिरबाट हेर्दा निकै आकर्षक देखिन्छ । किया ‘कारेन्स’मा भर्टिकल स्प्लीट एलइडी हेडल्याम्प, स्लीक टाइगर नोज फ्रन्ट ग्रिल र एलइडी फगल्याम्प सहितको बम्पर दिएको छ ।

कियाले यसलाई सुरक्षाको हिसावले अब्बल बनाउन फ्रन्ट बम्परमा समेत सेन्सर दिएको छ । नयाँ डिजाइनको अलोय ह्वील, पछाडि र्यापअराउण्ड एलइडी टेललाइट, स्पोर्टी रुफ स्पोइलर र क्रोम फिनिसिङ सहितको पछाडिको बम्परले क्रेन्सलाई उत्कृष्ट बनाएको छ ।

इन्टेरियरः कार बाहिरबाट सुन्दर भएर मात्रै हुँदैन । भित्री डिजाइन आकर्षक र आरामदायी यात्रा गर्न सकिने किसिमको हुनुपर्छ । त्यसमा कियाले कुनै कसर बाँकी राखेको छैन । ‘कारेन्स’मा आकर्षक दुई कलरमा फिनिसिङ गरिएको क्यावीन पाउन सकिन्छ ।

फ्ल्याट डिजाइनमा तयार गरिएको ड्यासबोर्ड र बीचमा दिइएको १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र त्यसको ठिक्क मुनी रहेको टच सेन्सेटीच एचभीएसी कन्ट्रोलले यसलाई बजारमा उपलब्ध अन्य कारभन्दा माथि देखाएको छ । यसमा १२.५ इन्चको एलसिडी इन्ट्रुमेन्ट क्लस्टर, फ्ल्याटबटम स्टेरिङ ह्वील, इलेक्ट्रीक सिट, एम्बीयन्ट लाइट, इलेक्ट्रीक सनरुफ, ६ वटा एयरव्याग जस्ता फिचर दिइएको छ । कम्पनीले यसलाई ६ र ७ सिट क्षमतामा उपलब्ध गराउने छ ।

इन्जिन र गियरबक्समा छनोटः किया ‘कारेन्स’ तीन फरक इन्जिन अप्सनमा उपलब्ध हुनेछ । यसमा क्रेटा र सेल्टोसमा उपलब्ध १.५ लिटर पेट्रोल इन्जिन, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन रहेको छ । यसमा ६ स्पीड म्यानुयल, ६ स्पीड अटोमेटिक र ७ स्पीडका डिसीटी गियरबक्स दिइएको छ ।


Back_to_top