काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यूले वार्षिक मर्मतसम्भार योजना ल्याएको छ । कम्पनीले यामाहा ब्राण्डका स्कुटर तथा मोटरसाइकल प्रयोगकर्ताहरूका लागि वार्षिक योजना ल्याएको हो ।
यामाहाका प्रायोग कर्ताहरूले यो योजनामा सहभागी भएर आफ्ना मोटरसाइकल तथा स्कुटरको सर्भिसिङ तथा कुनै पनि प्रकारको मर्मतसम्भार गर्नु पर्दा आर्कषक छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा सहभागी भएर ग्राहकले वार्षिक ४ वटा सर्भिस निःशुल्क, हरेक स्पेयर पार्टस्मा १० प्रतिशत छुट, ल्युबमा ७ प्रतिशत छुट, सबै प्रकारको लेवर शुल्कमा ५० प्रतिशत छुट तथा ३ पटकसम्म निःशुल्क वाशिङको फाइदा उठाउन सक्नेछन् ।
यो योजनमा यामाहा एफजेड सिरिज अन्तर्गत १५० सीसीका मोटरसाइकल प्रयोग कर्ताले वार्षिक १ हजार २०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । त्यस्तै सलुटो, एसजेड आरआर, र सबै प्रकारको स्कुटरको प्रयोगकर्ताले वार्षिक १ हजार १०० रुपैयाँ बुझाउनु पर्नेछ । त्यसैगरी, एमटी र आर १५ का प्रयोगकर्ताले वार्षिक १ हजार ३०० रुपैयाँ बुझाउनु पर्छ भने एफजेड २५ सिरिजका प्रयोगकर्ताले १ हजार ४०० वार्षिक शुल्क बुझाउनु पर्छ । यामाहा आर ३ को ग्राहकले भने १ हजार २०० रुपैयाँमा ३ वटा सर्भिस र अन्य सुविधा अन्य मोटरसाइकल सरह प्राप्त गर्नेछन् ।
यो योजना नेपालभर रहेको यामाहाको आधिकारिक सर्भिस सेन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यस्तै, नेपालभर रहेको यामाहाको एफआई स्टेशनबाट कम्पनीले निःशुल्क एफआई हेल्थकार्ड वितरण गर्दै आएको पनि जनाएको छ ।


