परिक्षणमा देखियो महिन्द्राको इलेक्ट्रीक एसयूभी, दुई फरक व्याट्रीमा आउने

काठमाडौं । महिन्द्राले बजारमा ल्याउने तयारी गरिरहेको पहिलो इलेक्ट्रीक एसयूभी परिक्षणको क्रममा देखिएको तस्विर भारतीय मिडियाले बाहिर ल्याएका छन् । कम्पनीले २०२० मा भएको अटो एक्स्पोमा सार्वजनिक गरेको इएक्सयूभी ३०० मा आधारित इलेक्ट्रीक एसयूभीको परिक्षण गरिरहेको हो ।

महिन्द्राले यो इलेक्ट्रीक एसयूभीको नाम एक्सयूभी ४०० राख्ने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसको नाम अहिल्यै टुङ्गो लगाएको छैन । एक्सयूभी ३०० मा पूर्ण आधारित यो इलेक्ट्रीक एसयूभीले टाटा नेक्सनसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

पूर्णरुपमा ढाकेर परिक्षण भइरहेको कार एक्सयूभी ३०० भन्दा कति फरक छ भन्ने एकिन गर्न सकिएको छैन । यद्यपी अगाडिको भाग, लाइट, ह्वील, टेल लाइट जस्ता फिचर भने फरक रहने छन् ।

महिन्द्राले अबको ५ वर्ष भित्र ८ नयाँ मोडलको इलेक्ट्रीक सवारी साधन बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यही वर्षको पहिलो क्वाटरमा केयूभी १०० को इलेक्ट्रीक भर्सन र वर्षको अन्तिममा एक्सयूभी ४०० इलेक्ट्रीक बजारमा ल्याउने अनुमान गरिएको छ ।

महिन्द्राले आफ्नो ‘महिन्द्रा इलेक्ट्रीक स्केवल एण्ड मोडुलर आर्किटेक्चर’मा बनाइरहेको यो एसयूभीमा स्टायडर्ड र लङ रेन्ज गरी दुई पावरट्रेनमा आउने छ । जसमा ३५० भोल्ट र ३८० भोल्टको पावरट्रेन प्रयोग हुनेछ ।

कम्पनीले दिने सानो व्याट्रीले टाटा नेक्सनसँग र ठूलो व्याट्रीले हुन्डाई कोनासँग प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ । यद्यपी व्याट्री, मोटर र रेन्जको विषयमा कम्पनीले जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top