विद्युतीय कारमा नेपालीले देखाएको धैर्यता

काठमाडौं । सन् १९९८ देखि विद्युतीय तीन पाङ्ग्रे सवारी साधनको विक्री नेपालमा सुरु भएको थियो । तर, विद्युतीय कारको लागि भने करिब १४ वर्ष कुर्न पर्यो ।

महिन्द्राले भारतमा उत्पादन गरेको रेभा नै नेपाल आउने पहिलो विद्युतीय कार थियो । त्यसपछि अर्को मोडल ‘रेभा इटुओ’ नेपाल आएको थियो । रेभा निकै सानो साइजमा उपलब्ध थियो भने इटुओ केही ठूलो साइजमा थियो ।

सन् २०१२ मा रेभा इलेक्ट्रीक नेपालमा विक्री सुरु हुँदा धेरैले विद्युतीय कारले नतान्ने आँकलन गरेका थिए । त्यति वेला केही वातावरणको क्षेत्रमा काम गर्ने मानिस बाहेक अन्यको रोजाईमा विद्युतीय कार पर्न सकेको थिएन ।

‘पहिलो कार छनोट गर्नेले विद्युतीय कार किन्ने कल्पना गर्नै सक्दैन थिए । थोरै रेन्ज र सानो गाडी भएका कारण ती कारहरु हाइवेमा गुडाउन सकिदैन थियो’, अग्नी इनर्जीका प्रमोद भण्डारीले भने ।

भण्डारीका अनुसार रेभाले अधिकतम ८० किलोमिटर रेन्ज दिन्थ्यो भने रेभा इटुओ १०० किलोमिटरसम्म गुडाउन सकिन्थ्यो । रेभामा लिड एसिड व्याट्री थियो भने रेभा इटुओमा लिथियम आयोन व्याट्री थियो ।

आजभन्दा १० वर्ष अगाडिको अवस्था सम्झदै भण्डारी भन्छन्, ‘अहिले जस्तो व्याट्री साइजको विषयमा कसैले कुरा गर्दैन थियो । त्यसको पावरको विषय भने हुन्थ्यो । अहिले समय फेरिएको छ, मानिसहरु व्याट्री क्षमता र लाइफको विषयमा सबैभन्दा बढी चर्चा गर्छन् । यसले विद्युतीय गाडी प्रति ग्राहकको आकर्षण बढ्दै गएको देखाउँछ ।’

करिब ५ वर्षसम्म विद्युतीय गाडी भनेकै महिन्द्राका उत्पादन थिए । सन् २०१७ मा बीवाइडीले नेपालमा इ६ कार ल्याएर ठूलो साइजमा विद्युतीय गाडी आउन सुरु भएको जनाउ दियो । तर, इ६ आफै भने बजारमा चल्न सकेको थिएन । व्यवसायीक सफलता सन् २०१७ मा नै नेपाल आएको कियाको सोल इभीले पायो । तर, २०० किलोमिटर भन्दा कम रेन्जको कारण यसले संख्यात्मक सफलता भने पाउन सकेन ।

भारतले लगाएको नाकाबन्दीपछि बजारमा देखिएको इन्धन संकटले नेपालमा विद्युतीय गाडी विक्री हुने आधार तयार पारेको भन्दा फरक पर्दैन । सरकारले पेट्रोल उपलब्ध गराउन नसकिरहेको समयमा आएको बजेटले विद्युतीय गाडीमा अन्तःशुल्क नलगाउने र भन्सार पनि न्यून कायम गर्ने निर्णय गरेको थियो । जसले विद्युतीय गाडी आयातमा ढोका खोलेको थियो ।

अहिले समय फेरिएको छ । नेपालमा नै एकपटकको फुल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने विद्युतीय गाडी आयात सुरु भएको छ भने एक पटक बढाएको कर सरकारले पुनः घटाएको छ । सरकारको प्राथमिकतामा विद्युतीय गाडीमा पर्नु र व्यवसायीक उत्पादनमा कम्पनीहरु लाग्दा थोरै कार विक्री हुने नेपाली बजारमा विद्युतीय गाडीले आफ्नो बजार हिस्सा १० प्रतिशत भन्दा माथि पुर्याउन सफल भएको छ ।

अहिले बजारमा एमजी, हुन्डाई, किया, बीवाइडी, टाटा, महिन्द्रा, दिगो, टेस्ला र ओरा ब्राण्डमा इलेक्ट्रीक कार विक्री भइरहेका छन् । हिजो दोस्रो कार इलेक्ट्रीक भन्ने सोचलाई परिवर्तन गर्दै ग्राहकले पहिलो कार नै इलेक्ट्रीक खरिद गर्ने अवस्था सृजना भएको छ । यो विद्युतीय कार प्रति नेपालले देखाएको विश्वास हो । त्यसैले त नेपाल दक्षिण एशियामा नै विद्युतीय गाडी प्रयोगमा पहिलो स्थानमा आउन सफल भएको छ ।


Back_to_top