मारुती सुजुकी इन्डियाले सन् २०२५ सम्ममा वार्षिक ३० लाख कार बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले यो लक्ष्य पूरागर्न सन् २०२० सम्ममा साना इलेक्ट्रीक कार निर्माणमा जोड दिने जनाएको छ ।
कम्पनीको उक्त लक्ष्य आफ्नो ३७ औं वार्षिक साधारण सभामा कम्पनीका चेयरम्यान आरसी भार्गवले घोषणा गरेका हुन् । कम्पनीले सन् २०२० सम्ममा भने वार्षिक २० लाख कार बिक्री गर्ने योजना बनाएको छ ।
कम्पनीको वार्षिक प्रतिबेदनमा कच्चा तेलको मूल्य वृद्धिलाई नकारात्मक पाटोको रुपमा हेरिएको छ भने, इलेक्ट्रीक कार प्रति बढेको आर्कषणलाई निकै राम्रो संकेत भएको जनाइएको छ ।
साधारण सभामा बोल्दै कम्पनीका चेयरम्यान भार्गवले भने ‘अबको विकल्प इलेक्ट्रीक कार नै हो, यसको साथै हामीले सिएनजी, हाईब्रिड, एथानोल र मिथेनलबाट संचालन हुने कारको उत्पादनमा समेत जोड दिनु पर्छ ।’
७५ प्रतिशत साना कार बिक्री भइरहेको भारतीय बजारमा इलेक्ट्रीक साना सवारी साधनको बजार धेरै रहने उनले दाबी गरे ।


