सुनसान गाडीका शोरुम !

काठमाडौं । चाडपर्व सकिएसँगै सुरु भएको लगानी योग्य रकमको अभावका कारण गाडीको विक्रीमा उच्च गिरावट आएको छ । बैंकले कर्जा दिन नसक्ने अवस्था आएसँगै गाडीको विक्रीमा उच्च गिरावट आएको हो ।

‘चाडपर्व सकिएसँगै बजारमा देखिएको तरलता अभावले गाडीको विक्री ठप्प जस्तै छ । त्यसमा पनि महंगो व्याजदरको कारण मानिसहरु गाडी किन्न आइरहेका छैनन्’, नाडाका अध्यक्ष ध्रुव थापाले मेरोअटोसँग भने ।

बैंकको नाममा नामसारी भएपनि विक्रेताले पैसा नपाउने अवस्था आएको भन्दै थापा भन्छन्, ‘हामीले पैसा पाएका पनि छैनौ, ग्राहकले पनि किस्ता बुझाउन थालिसकेका छन् । यसले व्यवसायीलाई निकै ठूलो मर्का पर्न थालेको छ ।’

अहिले गाडी विक्रीको लागि खुलेका सबै शोरुमहरु सुनसान छन् । यहाँ मानिसको आवतजावत पनि निकै पातलो छ । बैंकले डेलिभरी अर्डर दिएसँगै बैंकको नाममा गाडी नामसारी भएपनि दुई महिनामा पनि पैसा पाउन नसकेको गुनासो व्यवसायीहरुको छ ।

‘हामीले गाडी नामसारी गरेपछि पनि तीन महिनासम्म पैसा पाउन सकेका छैनौं । यसले डिलरको खर्च बढ्ने र भोलिका दिनमा व्यवसाय नै गर्न नसक्ने अवस्था सृजना हुने देखिदैछ’, जी मोटर्स भक्तपुरका प्रबन्ध निर्देशक कैलास गेलालले भने ।

अहिले बजारमा गाडी उधारो दिने प्रतिस्पर्धा चलेको बताउँदै गेलाल भन्छन्, ‘बैंकले पैसा नदिने, ग्राहकले डाउन पेमेन्ट वापत जम्मा गर्ने रकम पनि उधारोमा छाड्ने परिपाटी बढ्दा डिलरले काम नै गर्न नसक्ने अवस्था आएको छ ।’

बजारमा देखिएको तरलता अभाव कति समय जान्छ भन्ने विषयमा कहि कतै छलफल नभएकोमा पनि व्यवसायीहरु गुनासो गर्छन् । एकातिर तरलता अभाव छ भने अर्को तिर अटोमोवाइल कर्जा १८ प्रतिशतभन्दा माथि पुर्याउनु पर्छ भने जसरी राष्ट्र बैंकले नीति बनाउँदै छ ।

‘तीन महिनादेखि बजारमा असामान्य हिसावले तरलता अभाव देखिएको छ । बजारमा पैसा छैन, भुक्तानी सन्तुलन विग्रिएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक कान थुनेर बसेको छ । यस्तो असामान्य अवस्था कहिलेसम्म रहन्छ, त्यसको विषयमा सरोकारवाला निकाय बोल्नु पर्दैन ?’, एक व्यवसायीले भने ।

तरलता अभाव सम्बोधन गर्ने नाममा केन्द्रीय बैंकले ब्याजदर बढाउँदै लगेको छ । यसले बैंकबाट कर्जा लिएका ऋणीहरु समेत अफ्ठ्यारोमा पर्न थालेका छन् । यसले एकातिर ब्यापार चौपट भएको छ भने अर्को तिर नागरिकमा समस्या देखिएको छ ।


Back_to_top