काठमाडौं । लगातारको मूल्य वृद्धिले मोटरसाइकल किन्न चाहने मानिसलाई निरास बनाएको छ । विश्वभर स्वास्थ्य महामारीको रुपमा कोभिड १९ संक्रमण फैलन थालेसँगै मोटरसाइकल लगायतका सवारी साधनको मूल्य बढ्न थालेको हो । जुन मूल्य वृद्धि तत्काल थामिने अवस्थामा छैन ।
भारतीय बजारमा भएको मूल्य वृद्धिलाई धेरै हदसम्म ‘जस्टिफाई’ गर्न सकिन्छ । तर, नेपालमा भएको मूल्य वृद्धिलाई निकै मिहिनसँग हेर्नु पर्ने देखिन्छ । भारत सरकारले लिएको सुरक्षा नीति अनुसार सन् २०१९ अप्रिल १ तारिखबाट १२५ सीसी माथिका सबै मोटरसाइकलमा एबीएस अनिर्वाय गरिएको थियो । त्यसको मूल्यमा असर पर्ने नै भयो । फलस्वरुप भारतीय कम्पनीले २ देखि ४ हजारसम्म मूल्य बढाए । उनिहरुले बढाएको मूल्य एबीएस फिचरको लागि थियो ।
अर्को प्रदुषण मापदण्ड अपग्रेड गर्दा मूल्य बढ्यो । भारतीय उत्पादकले सन् २०२० अप्रिल १ तारिखबाट बीएस फोर छाडेर अनिर्वाय बीएस ६ मापदण्डमा उक्लेका थिए । यसको असर पनि मोटरसाइकलको मूल्यमा पर्ने नै भयो । यसले भारतमा उत्पादन हुने मोटरसाइकलमा ५ देखि १० प्रतिशतसम्मले मूल्य बढायो ।
कोभिड १९को संक्रमण तिब्र गतिमा फैलन थालेसँगै उद्योगहरु बन्द भए । लामो बन्दले उद्योगको उत्पादन लागत बढायो । प्लाष्टिक, स्टील, पेट्रोलियम पदार्थ, ट्रान्सपोर्टेशन लगायत क्षेत्रमा बस्तु तथा सेवाको मूल्य बढ्यो । अहिले यी बस्तुमा भएको मूल्य वृद्धि औषतमा ४० प्रतिशतभन्दा माथि रहेको छ । यसले समग्रमा सवारी साधनको मूल्य बढायो ।
नेपालमा प्रभाव
भारतीय बजारबाट ९७ प्रतिशत हाराहारी सवारी साधन आउने भएकोले भारतीय बजारमा भएको मूल्य वृद्धिको चाप नेपालमा नपर्ने कुरै भएन ।
उत्पादकको लागत बढेपछि बस्तुको मूल्य बढ्नुलाई स्वाभाविक मान्न सकिन्छ । तर, भारतमा लागु भएका सबैकुरा लागु नभइकनै भारतीय बजारको हाराहारीमा मूल्य बढ्नु चाहि अल्ली जायज देखिदैन ।
तर, पछिल्ला दिनमा बढ्दो व्याजदर र भारतले अनिर्वाय गरेका एबीएस, बीएस६ मापदण्ड जस्ता कुरा नेपालमा पनि क्रमिक रुपमा लागु हुँदै गएका छन् । यी मापदण्ड पूर्णरमा लागु हुने चरणमा भएकाले नेपालमा मोटरसाइकलको मूल्य थप बढ्ने निश्चित छ ।

