वाग्मतीमा ‘मोटरसाइकल र स्कुटर’ ट्याक्सी दर्ता गर्न नयाँ कानुन बन्दै

शांकेतिक तस्विर

काठमाडौं । वाग्मती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर ट्याक्सी सेवालाई व्यवस्थित गर्न भन्दै कानुन निर्माण गर्ने भएको छ । त्यसको लागि प्रदेश सरकारले काम अगाडि बढाउन लागेको हो ।

वाग्मती प्रदेशमा टुटल, पठाओ लगायतका एक दर्जन बढी ‘राइडिङ सेयरिङ’ कम्पनीले मोटरसाइकल तथा स्कुटरमा भाडा लिएर मानिस बोक्न थालेको लामो समयपछि प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताए ।

‘अहिले हामी सबै किसिमका सरोकारवाला निकायका मानिसहरूसँग परामर्शमा छौं । यसलाई ब्यवस्थित गर्नुको विकल्प छैन । त्यसैले सबैको सुझाव अनुसार नयाँ कानुन बनाएर यसलाई व्यवस्थित योजना निर्माण गर्न लागिएको हो,’ मुख्यमन्त्री पाण्डेले मेरो अटोसँग भने ।

अहिले उपत्यकाको सडकमा करिब १ लाखभन्दा धेरै मोटरसाइकल तथा स्कुटर ग्राहकको खोजीमा हिँड्दा सडक नै अस्तव्यस्त बन्दै गएको इंगित गर्दै पाण्डेले भने, ‘कानुन बनेपछि आवश्यक संख्यामा दर्ता गरेरै यस्ता साधनलाई ट्याक्सीको रूपमा प्रयोग गर्न सकिन्छ ।’

विकसित मुलुकमा पनि मोटरसाइकल तथा स्कुटरले ट्याक्सी सेवा प्रदान गर्ने गरेको र नेपालमा पनि ठूलो संख्यामा यही पेसामा मानिस लागेको कारण यसलाई व्यवस्थित गर्नु परेको पाण्डेको भनाइ छ । विश्वमा धेरै देशमा यस्तो सेवा दिने कम्पनी खुलेका छन् । यसमा नेपालीले नै नयाँ काम गर्न पाउनेगरी कानुन निर्माण गर्दा फाइदा हुने कुरा पनि आएकाे पाण्डे बताउँछन् ।

नेपालमा यसअघि कानुन विपरीत भाडामा मानिस बोकेको भन्दै टुटल, पठाओ जस्ता कम्पनीसँग आबद्ध भएर काम गर्दै आएका चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही नगर्न निर्देशन दिएका थिए ।

त्यसपछि कानुन निर्माण गरेर यस्ता साधन संचालन गर्न दिने बताइए पनि अहिलेसम्म कानुन निर्माणको प्रक्रिया समेत सुरू हुन सकेको थिएन । निजी साधनको रूपमा दर्ता भएका साधनले भाडा लिएर मानिस ओसारपसार गर्नु गैह्रकानुनी मानिन्छ । त्यसैले यसलाई कानुनी मान्यता दिन कानुन बनाउन लागेको हो ।


Back_to_top