काठमाडौं । बीवाइडीको गाडी नेपाल आउन थालेको ५ वर्ष पुरा भएको छ । कम्पनीले सन् २०१७ मार्च ३० तारिखबाट नेपालमा विद्युतीय गाडी आयात सुरु गरेको हो ।
नेपालमा सबैभन्दा धेरै मोडल र रेन्जका गाडी आयात गर्दै आएको कम्पनीले इ सिक्स, नयाँ जेनेरेशन इ सिक्स, एम थ्री भ्यान र टी थ्री कार्गो भ्यान विक्री गर्दै आएको छ । चाँडै कम्पनीले एसयूभी र ह्याचव्याक कार नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।
बीवाइडीले नेपालमा विक्री गर्ने कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडरले प्रयोग गर्न थालेका छन् भने एम थ्री भ्यान विभिन्न पर्यटन उद्योग र अस्पतालहरुले एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालेका छन् । बीवाइडी इ सिक्स र नयाँ जेनेरेशन इ सिक्स दुबै निजी सवारीसाधनको रुपमा प्रयोग हुँदै आएका छन् ।
कम्पनीले ५ वर्ष पुरा गरेर छैटौं वर्ष प्रबेश गरेको अवसरमा बीवाइडीका ग्राहकलाई ढुक्कसँग सेवा लिन आग्रह गर्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘बीवाइडी सधैं उत्कृष्ट सेवा दिन प्रतिबद्ध कम्पनी हो । नेपालको प्रकृतिक विविधता, जलवायू परिवर्तनको असर न्यूनिकरण र यहाँको पर्यटनलाई जिवन्त राख्न पनि हाम्रो पुस्ताले पेट्रोलियम पदार्थको प्रयोग घटाउनु पर्छ । त्यसको विकल्पमा ग्राहकलाई उत्कृष्ट विकल्प दिन बीवाइडी सधैँ तयार रहेको छ ।’
विगत ५ वर्षदेखि साइमेक्स इंकले सधैँ विद्युतीय गाडीको प्रयोग बढाउन जनस्तरमा चेतना अभिवृद्धि र नीति निर्मातालाई सहजीकरण गरिदन आग्रह गर्दै आएको थियो । अव त्योभन्दा एक स्टेप माथि उक्लदै आफ्नो सेल्स, सर्भिस र स्पेयर पार्टसको उपलब्धतामा काम सुरु गरेको जनाएको छ ।
बीवाइडी आक्रमक बजार विस्तारको लागि तयार रहेको बताउँदै कम्पनीका सीइओ सहिल श्रेष्ठले भने, ‘हामी आफ्नो नेटवर्क विस्तारमा लागेका छौं । अबको एक महिना भित्र देशको मुख्य सहरमा बीवाइडीको थ्री एस सर्भिस उपलब्ध हुन्छ । हामी थ्री एस सर्भिसको अलावा नेपालमा नै ब्याट्री टेक्नोलोजी र चार्जिङ नेटवर्कमा के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’
बीवाइडीले आफ्नो ब्यवसायीक यात्राको टर्निङ प्वइन्टको रुपमा सन् २०२२ लाई लिएको छ ।

