काठमाडौं । चल्तीका मोटरसाइकल तथा स्कुटर बजारमा चाँडै अभाव हुने देखिएको छ । सरकारले तत्काल एलसी खोल्न नदिने नीतिलाई निरन्तरता दिने भएसँगै मोटरसाइकल अभाव हुने भएको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार बढ्दो ब्यापार घाटा, बढ्दै गएको ब्यालेन्स अफ पेमेन्ट र बैंकहरुमा लगानी योग्य रकम अभावमा तत्काल प्रतितपत्र (एलसी) खोल्न दिने अवस्था छैन ।
‘हामी अर्थतन्त्रका सूचकहरु राम्रो बनाउन चाहन्छौं । त्यसको लागि पहिलो कदम नै खर्चिलो र विलासीताको बस्तु आयात केही सयम रोक्नु हो । जब वैदेशिक मुद्रा संचिति र ब्यालेन्स अफ पेमेन्टको अवस्थामा सुधार हुन्छ अनि मात्रै एलसी खोल्न दिइने छ’, मन्त्रालय स्रोतले मेरोअटोसँग भन्यो ।
सरकारले अहिले करिब ३०० बस्तुको आयात पूर्णरुपमा बन्द गरेको छ । त्यसको सिधा असर चल्तीका मोटरसाइकल र स्कुटरमा सबैभन्दा चाँडो देखिने अवस्था सृजना भएको छ । अहिले कम्पनीहरुसँग बैशाख र जेठ महिनासम्मको बजार माग थेग्न सक्ने अवस्था रहेपनि त्योभन्दा बढी समय एलसी खोल्न नदिने हो भने बजारमा मोटरसाइकल उपलब्ध हुनेछैन ।
त्यसैगरी सरकारले चार पाङ्ग्रे सवारी साधनको पनि एलसी तत्काल खुलाउने छैन । विभिन्न कम्पनीहरुले जनाए अनुसार असार मसान्तसम्म विक्री गर्न पुग्ने गाडीको एलसी खोलेर कम्पनीहरु बसेका छन् । त्यही कारण चालु आर्थिक वर्षभर विक्री गर्न पुग्ने गाडी आयातकर्ताहरुसँग स्टकमा रहेको बुझ्न सकिन्छ ।
अहिले नेपालमा भारत, चीन, थाइल्याण्ड, जापान, अमेरिका, बंगलादेश, भियतनाम जस्ता देशमा उत्पादन भएका मोटरसाइकल तथा स्कुटर विक्री वितरण हुँदै आएको छ भने भारत, चीन, यूरोप र अमेरिकाबाट आयात भएका कारहरु विक्री हुँदै आएका छन् ।

