नेक्सन र टिगोर इभीको उत्पादन बढाउँदै टाटा

काठमाडौं । भारतीय कार ब्राण्ड टाटाले आफ्नो इलेक्ट्रीक कारको उत्पादन क्षमता वृद्धि गर्ने भएको छ । कम्पनीले बढ्दो बजार मागलाई सम्बोधन गर्न आफ्नो उत्पादन क्षमता बढाउन लागेको हो ।

अहिले मासिक ३ हजार ५०० यूनिट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको टाटाले अब उत्पादन क्षमता बढाएर ५ हजार ५०० देखि ६ हजार यूनिटसम्म गर्न लागेको हो ।

‘बजार माग बढेसँगै उत्पादन बढाउनु पर्ने अवस्था आएको छ । बजारमा सेमीकन्डक्टरको सप्लाई ठिक ठाक भएको खण्डमा चाँडै उत्पादन क्षमता बढाउने छौं’, टाटा मोटर्स प्यासेन्जर तथा इलेक्ट्रीक भेहिकल यूनिटका प्रेसिडेन्ट शैलेश चन्द्राले भने ।

उनका अनुसार ६०० यूनिट मासिक उत्पादनबाट सुरु भएको टाटाको यात्रा दुई वर्षको अवधिमा १ हजार ७०० यूनिट हुँदै ३ हजार ५०० यूनिट पुगेको हो ।

भारतमा विद्युतीय कारको बजारमा करिब ८५ प्रतिशत बजार हिस्सा लिएको टाटाले नयाँ नयाँ इलेक्ट्रीक कार बजारमा ल्याउने घोषणा गर्दै आएको छ ।

कम्पनीले नेक्सनको लङ रेन्जदेखि अल्ट्रोज इभी पनि चाँडै बजारमा ल्याउने अपेक्षा गरिएको छ । मिड साइज सेग्मेन्टमा कर्भ एसयूभी अर्को वर्ष बजारमा ल्याउने टाटाले केही दिनअघि घोषणा गरेको थियो ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले पनि टिगोर र नेक्सन दुबै इभी नेपाली बजारमा विक्री गर्दै आएको छ । ग्राहकको लामो वेटिङ पिरियड रहेको नेक्सन अहिले बुकिङ गर्ने ग्राहकले ५/६ महिनापछि मात्रै पाउने अवस्था छ ।


Back_to_top