काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५० सीसी माथिका मोटरसाइकलमा असार मसान्तसम्म पूर्णरुपमा प्रतिबन्ध लगाएसँगै विशेषगरी ठूला साइजका मात्रै मोटरसाइकल विक्री गर्ने रोयल इनफिल्ड, जावा, बीएमडब्लू जस्ता ब्राण्डलाई सिधा असर पर्ने देखिएको छ ।
यसको सिधा असर होन्डाको बीग बाइक सेग्मेन्ट, केटीएमको ठूला बाइकमा पनि पर्नेछ । साथै, यामाहा लगायतका ब्राण्डले ल्याउने ठूला मोटरसाइकलमा पनि यसको असर पर्ने देखिन्छ । यद्यपि मास मार्केट ब्राण्डलाई यसको असर न्यून मात्रै पर्छ ।
विदेशी मुद्रा संचितिमा सुधार ल्याउन भन्दै सवारीसाधन लगायत एक दर्जन बस्तुको आयातमा प्रतिबन्ध लगाएको सरकारले विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात भने खुल्ला गरेको छ ।
ठूला मोटरसाइकल विक्री गर्ने रोयल इनफिल्डसँग ३५० सीसीभन्दा माथिका मोटरसाइकल मात्र उपलब्ध छ । त्यस्तै जावाले पनि ३०० सीसी भन्दा कम क्षमताका मोटरसाइकल विक्री गर्दैन । अर्को, प्रिमियम मोटरसाइकल ब्राण्ड बीएमडब्लूले नेपालमा विक्री गर्ने जी ३१० ट्वीनमा ३१२ सीसी क्षमताको इन्जिन रहेको छ ।


