पाँच लाखभन्दा कम मूल्यमा पाइने ३ उत्कृष्ट मोटरसाइकल

काठमाडौं । बजारमा २ लाख ५० हजारदेखि १५ लाख रुपैयाँसम्मका चल्तीका मोटरसाइकल किन्न पाइन्छ । ब्राण्ड, डिजाइन र इन्जिन क्षमता अनुसार मोटरसाइकलको मूल्य निर्धारण हुने गरेका छन् ।

आफ्नो आवश्यकता र चाहना अनुसार सबै किसिमका मोटरसाइकल विक्री हुँदै आएपनि २०० सीसी सेग्मेन्टमा रहेका धेरै मोटरसाइकल अहिले युवाहरुको रोजाईमा पर्दै आएका छन् ।

अहिले २०० सीसी सेग्मेन्टमा उपलब्ध धेरै मोडल मध्ये ५ लाख रुपैयाँ भन्दा कम मूल्यमा किन्न पाइने उत्कृष्ट मोटरसाइकलको बारेमा चर्चा गरिएको छ ।

हिरो एक्सपल्स २०० फोर भी

हिरोले नेपालमा विक्री गर्ने सबैभन्दा प्रिमियम मोटरसाइकल एक्सपल्स २०० फोर भी ५ लाखभन्दा कम मूल्यमा पाइने उत्कृष्ट मोडल हो । केही समय अगाडि मात्रै नेपाली बजारमा भित्रिएको एक्सपल्स २०० फोर भीको माग पनि उच्च रहेको छ ।

२०० सीसी इन्जिन युक्त यो मोटरसाइकल एड्भेन्चर टुरर सेग्मेन्टमा नेपाली बजारमा उपलब्ध छ । सेग्मेन्टमा नै यसका अन्य प्रतिस्पर्धी मोडल देख्न पाइदैन् । यसको फिचर, पावर र मूल्यका कारण हामीले यसलाई ५ लाख मूल्य भन्दा कम मूल्यका उत्कृष्ट मोटरसाइकलको सूचीमा समावेश गरेका हौं ।

भारतीय ब्राण्ड हिरो मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले ४ लाख ५० हजार मूल्य तोकेर यसको विक्री गर्दै आएको छ ।

एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ ।

यो मोटरसाइकलमा व्लुटथ कनेक्टीभीटी, टर्न वाई टर्न नेभिगेशन, एबीएस जस्ता फिचर पाउन सकिन्छ ।

यामाहा एमटी १५

यामाहा एमटी १५ बीएस ६ भर्सन नेपाली बजारमा विक्री हुने ५ लाखभन्दा कम मूल्य भएको अर्को उत्कृष्ट मोटरसाइकल हो । यो मोटरसाइकल खरिद गर्नका लागि ग्राहकले महिनौसम्म प्रतिक्षा गर्नु पर्ने अवस्था रहेको छ ।

१५० सीसी नेकेड स्पोर्टस मोटरसाइकल सेग्मेन्टमा यो मोटरसाइकलको प्रतिस्पर्धी मोडल नै छैन । यो मोटरसाइकलको लुक्स, पावर र फिचरका कारण धेरैले मन पराएका हुन् ।

यामाहा मोटरसाइकलको नेपलाको लागि आधिकारिक विक्रेता एमएडब्लूले एमटी १५ बीएस ६ को टप भेरियन्टको मूल्य ४ लाख ७१ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

यामाहाले एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड फोर भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा १९ बीएच पावरका साथै ८५०० आरपीएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ । साथै मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।

होन्डा हर्नेट २.०

बजारमा त्यति धेरै चर्चा नभएता पनि होन्डा हर्नेट २.० फिचर लोडेड मोटरसाइकल हो । यो होन्डाले भारतमा उत्पादन गरेको प्रिमियम मोटरसाइकल हो । होन्डा हर्नेट २.० आधुनिक फिचर र पावरका कारण उत्कृष्ट मानिन्छ ।

होन्डा हर्नेट २.० सेग्मेन्ट फस्ट फिचरका साथ आएको छ । यसमा रहेको यूएसडी फर्क र यसको वाइडर टायर यो सेग्मेन्टमा अन्य मोडलसँग छैन ।

यो मोटरसाइकल होन्डाले नयाँ प्लेटर्फमा निर्माण गरेको हो । जापानी मोटरसाइकल होन्डाको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले ४ लाख ९८ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ ।

होन्डा हर्नेट २.० मा १८४.४ सीसी क्षमताको इन्जिन दिइएको छ । हर्नेट २.०मा प्रयोग गरिएको इन्जिनले १७.२ बीएच पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा एफआई इन्जिनको प्रयोग गरिएको छ ।


Back_to_top