मूल्य र ब्राण्डको प्रतिस्पर्धामा ‘एक्सपल्स २०० फोर भी र एक्सआर १९०’

काठमाडौं । सहरी क्षेत्र होस् वा अफरोडले भरिएको पहाडी र हिमाली क्षेत्र सबै ठाँउमा गुडाउन मिल्ने भएकै कारण डबल स्पोर्ट मोटरसाइकलहरु चढ्ने मानिस बढ्दै गएका छन् ।

अहिले थुप्रै चिनियाँ ब्राण्डले डबल स्पोर्ट मोटरसाइकल नेपालमा विक्री गर्दै आएका छन् भने केही प्रिमियम ब्राण्डले पनि यस्ता मोटरसाइकल उपलब्ध गराएका छन् । तर, बजारमा उपलब्ध जापानी ब्राण्ड होन्डा र भारतीय ब्राण्ड हिरोले उपलब्ध गराएको मोटरसाइकल बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

हिरोले केही समय अघि एक्सपल्स २०० को फोर भी मोडल नेपाल ल्याएसँगै यो सेग्मेन्टमा होन्डा एक्सआर १९० एलसँग एक्सपल्सको राम्रै प्रतिस्पर्धा हुने भएको हो । त्यसोत यी दुई मोडलमा करिब २ लाख ५० हजार रुपैयाँ हाराहारी मूल्यमा फरक रहेको छ । यस्तोमा एक्सपल्स २०० फोर भी र होन्डा एक्सआर १९० एल बीच रहेका भिन्नता यहाँ केलाउने प्रयास गरिएको छ ।

डिजाइन

यी दुबै मोटरसाइकल अनरोड तथा अफरोडमा चलाउन उपयुक्त मानिन्छन् । विशेषत अपराइट राइडिङ पोजिशन रहेको यी मोटरसाइकल आरामदायी यात्राको लागि उत्कृष्ट विकल्प हुन् । यी दुबै मोटरसाइकलको एक्जष्ट (अपस्वप्ट माथि तिर गएको) डिजाइनमा छन् ।

इन्जिन

होन्डा एक्सआर १९० मा १८४ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा १५.६ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा १५.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

हिरो एक्सपल्स २०० फोर भीमा १९९ सीसी क्षमतको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा १९.१ पीएस पावर तथा ६५०० आरपीएममा १७.३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनि एक्सआर कै जस्तो समान ५ स्पीड गियरबक्स पाउन सकिन्छ । यी दुई मोटरसाइकल मध्ये पावरमा एक्सपल्स २०० फोर भी बढी पावरफुल रहेको छ ।

सस्पेन्सन

एड्भेन्चर मोटरसाइकलमा महत्वपुर्ण पक्ष भनेको सस्पेन्सन हो । यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सनको साथ एन्टी फ्रिक्सन बुस रहेको छ भने रियरमा मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

टायर/ब्रेकिङ

हिरोले एक्सपल्स २०० फोर भीको फ्रन्टमा २१ इन्च र रियरमा १८ इन्चको टायर दिएको छ भने होन्डाले एक्सआर १९० को फ्रन्टमा १९ इन्च र पछाडि १७ इन्चको ह्वील दिएको छ । यी दुबैमा स्पोक ह्वील छ ।

हिरो दुबैतर्फ डिस्क ब्रेक दिएको छ भने होन्डाले अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिएको छ । त्यस्तै हिरोले एक्सपल्समा सिंगल च्यानल एबीएस दिएको छ । तर, होन्डा एक्सआर १९० एलमा एबीएस फिचर छैन । यी दुबै मोटरासइकलमा अनरोड तथा अफरोडका लागि उपयुक्त हुने डबल पर्पस टायर रहेको छ ।

डाइमेन्सन

होन्डा एक्सआर १९० को लम्वाई २०७५ एमएम, चौडाई ८१२ एमएम, उचाई ११२४ एमएम, ह्वीलवेस १३५१ एमएम र ग्राउन्ड क्लियरेन्स २४५ एमएम रहेको छ ।

त्यस्तै एक्सपल्स २०० फोर भीको लम्वाई २२२२ एमएम, चौडाई ८५० एमएम, उचाई १२५८ एमएम, ह्वीलवेस १४१० एमएम र ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ ।

माइलेज

हिरो एक्सपल्स २०० फोर भीले ५० किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ भने होन्डा एक्सआर १९० ले ३५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । त्यस्तै होन्डाले १२ लिटर क्षमताको इन्धन स्टोरेज क्षमताको ट्याङकी दिएको छ भने, हिरोले १३ लिटर क्षमताको ट्याङकी दिएको छ ।

मूल्य

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारि विक्रेता एनजीएम हिरोले अर्को हप्ता सार्वजनिक गर्ने मोटरसाइकल एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।

त्यस्तै होन्डा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले होन्डा एक्सआर १९० को मूल्य ६ लाख ९८ हजार ९०० रुपैयाँमा तोकेर विक्री गर्दै आएको छ ।

अन्त्यमा पावर, फिचर र मूल्यको आधारमा हिरो एक्सपल्स २०० फोर भी अगाडि देखिन्छ । तर, जापानी ब्राण्ड र त्यसमा पनि स्पोर्टस् तथा डर्ट बाइक निर्माणमा सफलता पाएको होन्डाको ब्राण्ड भ्यालूले एक्सआर १९० एललाई निकै सहयोग पुगेको छ ।


Back_to_top