काठमाडौं । पारामाउन्ट मोटर्सले फागुन १५ गरे नेपालमा सार्वजनिक गरेको फेसलिफ्ट जेडएस इभी धेरै ग्राहकले बुकिङ गरेर पनि डेलिभरी पाएका छैनन् । दुई युनिट नयाँ जेडएस नेपाल ल्याएर सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको कम्पनीले अहिले पनि डेलिभरी दिने एकिन समय दिन सकेको छैन ।
‘करिब ५ सय यूनिट गाडी बुकिङ लिएका थियौं । तर, चीनमा फैलिएको कोभिडको कारण समयमा गाडी आउन सकेको छैन । कोभिडको प्रभाव कम भएसँगै गाडी आयात हुन्छ’, पारामाउन्ट मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले ५१ लाख ९९ हजार मूल्य निर्धारण गरेर बुकिङ लिएको जेडएसको स्टायडर्ड भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री रहेको छ । साथै, फेसलिफ्ट जेडएस इभी ७२ किलोवाट आवरको ब्याट्री प्याकमा पनि उपलब्ध हुन्छ । त्यसको मूल्य भने ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।
एमजी जेडएसको स्टायडर्ड भेरियन्टको रेन्ज कम्पनीले ४१९ किलोमिटर दावी गरेपनि विभिन्न समय, स्थान र सडक कन्डिसनमा अटोकारले गरेको परिक्षणमा सहरी क्षेत्रमा ३३७ र हाइवेमा ३१७ किलोमिटर रेन्ज प्राप्त भएको छ । बेलायत र भारतमा परिक्षण भएको कारण गाडी किन्ने मानिसले कम्तीमा यति रेन्ज पाउने छन् । परिक्षण गर्दा गाडीमा लेभल दुईको रिजेन लगाइएको थियो भने एसीको प्रयोग भएको रिपोर्टमा उल्लेख छ । गाडीलाई इको मोडमा चलाइएको थियो ।
नेपालमा निकै सफल मानिएको एमजी जेडएस इभीको फेसलिफ्ट मोडल पहिलेको तुलनामा थुप्रै परिमार्जन सहित आएको छ । जेडएस इभीमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म व्यापक परिवर्तन पाउन सकिन्छ । साथै, कम्पनीले यसको ड्यासवोर्डमा पनि परिमार्जन गरेको छ ।
रि-डिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई-स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा थप भएर आएको छ ।

