काठमाडौं । भरतपुर महानगरपालिकाले चितवनको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको छ ।
त्यसैगरी, महानगरले राजमार्ग क्षेत्रमा तीनपाङ्ग्रे सवारी निषेध गरेको दुई साताभित्रै ट्राफिक व्यवस्थापनमा सहज हुनेगरी अर्को कामको सुरुवात गरेको हो ।
महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सरत र सहजता होस् भनी महानगरपालिकाले दिगो सहरी विकास नीतिअनुसार विभिन्न २० स्थानमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।
आइल्यान्ड निर्माणले सहजरुपमा ट्राफिक व्यवस्थापन तथा सडकमा भीड कम भएको बेलामा ट्राफिकलाई आराम गर्ने वातावरण मिल्नेछ, महानगरको विश्वास छ ।
यसैगरी, आइल्यान्ड राखिएका स्थानहरूमा हाकिमचोक, केन्द्रीय बसपार्कचोक, वीरेन्द्र चौबिसकोठी, क्याम्पसचोक, लायन्सचोक, सहिदचोक, पोखरा बसपार्कचोक, पुल्चोक, लिलाचोक, आँपटारी चोकलगायत रहेका छन् ।
पोष्टहरूमा सोलारको समेत व्यवस्था गरी मोबाइल फोनलाई चार्ज गर्ने व्यवस्था मिलाइएको छ भने वर्षाको समयमा लगाउने ‘रेनकोट’ र पिउने पानी राख्ने व्यवस्था पनि मिलाइएको छ ।


