नारायणगढ-मुग्लिन सडक अवरुद्ध

रत्ननगर । चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ । 

पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए । 

राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो । पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् । 

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ । यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खसेर पाँच घण्टा सडक रोकिएको थियो । 


Back_to_top