काठमाडौं । कलंकीमा निर्माणाधिन नेपालकै पहिलो अन्डरपास निर्माणको अन्तिम चरणमा पुगेसँगै यही मोडललाई पछ्याउँदै सडक विभागले बानेश्वर र कोटेश्वर चोकमा पनि अन्डरपास बनाउने भएको छ ।
करिब एक किलोमिटर लम्बाई रहने यी अन्डर पास बनाउन पाँच वटा नेपाली कम्पनीले चासो देखाएका छन् ।
करिब एक–एक अर्वको लागमा निर्माण गरिने यी अन्डरपासको विस्तृत परियोजना अध्ययन प्रतिवेदन बनाउन सडक विभागले मागेको प्रस्तावमा ६ वटा कम्पनीले आवेदन दिएका छन् ।
ति मध्ये ५ कम्पनी नेपाली रहेका छन् भने एउटा कम्पनी चिनियाँ रहेको छ ।
सडक विभागका अनुसार डिजाइन बनिरहेका दुबै अन्डरपास निर्माणको जिम्ममा पुष मसान्तसम्ममा सार्वजनिक प्रस्ताव माग गरेर दिने तयारी भइरहेको छ ।
चक्रपथ बिस्तारसँगै कलंकीमा चिनियाँ कम्पनीले बनाएको अण्डरपास संचालनमा आउने क्रममा रहेको छ भने दोस्रो चरणको चक्रपथ बिस्तार योजना अन्तर्गत महाराजगन्जमा बन्ने अन्डर पास चिनियाँ कम्पनीले निर्माण गर्ने छ ।
सवारी आवागमनको लागि सहज हुने गरी कलंकीमा निर्माण अन्तिम चरणमा पुगेको छ भने बानेश्वर र कोटेश्वरमा निर्माण प्रकृया सुरु हुँदैछ ।
सडक विभाग अन्तर्गतको पुल विभागले बानेश्वर र कोटेश्वरमा दुईवटा अन्डरपासको विस्तृत डिजाइन बनाउने काम नेपाली कम्पनीलाई नै दिएको छ ।
यी हुन् विस्तृत प्रतिवेदन तयार पार्न लागेका कम्पनी
–आईटीईसीओ नेपाल जेभी कार्ड कन्सल्ट होमल्याण्ड प्रालि
–सीईआसी जेभी जीईओसीएएम इन्टरनेशनल प्रालि
–जीईओसीई कन्सल्यान्ट जेभी बीम कल्सल्यान्ट
–बीडीए नेपाल प्रालि जेभी बेइजिङ चाइना हाइवे ई. एन्ड कन्सल्यान्ट
–जीओइसी नेपाल प्रालि जेभी कस्मोपोलिटेन कन्सल्यान्ट एण्ड टेक्निकल इजुकेशन प्रालि
–सीआईएएस प्रालि
चक्रपथ बिस्तारको क्रममा स्थानमा विश्व सम्पदा सूचीमा सूचिकृत स्यम्भुनाथ मन्दिर पर्ने भएकाले उक्त स्थानमा २०० मिटर लामो अन्डरपास चिनियाँ कम्पनीले निर्माण गरिदिने भएको छ ।
उपत्यकाको जाम कम गर्न बिभिन्न स्थानमा अन्डरपास निर्माण गर्नुपर्ने सरोकार वालाहरुले माग गर्दै आएका थिए ।


