ब्लगः गाडीमा आगो लाग्नु समान्य, किन जल्यो थाहापाउनु उपलब्धी !

हामीले गाडी उत्पादनको इतिहास केलाएर हेर्ने हो भने थुप्रै दुर्घटनासँग सम्बन्धित आलेखहरु अहिले पनि भेटिन्छन् । विशेषगरी सवारीसाधन ठूलो दुर्घटनामा परेपछि आगलागी हुनु सामान्य हो । हलिउड, बलिउडदेखि नेपाली सिनेमा निर्माणको क्रममा गाडीमा आगो लागेको दृष्य हामी सबैले देखेकै छौं ।

सवारीसाधनमा अति प्रज्वलनशील पेट्रोलियम पदार्थ रहने र दुर्घटनामा त्यो पोखिएर आगलागी हुने गर्छ । गाडी ओभर हिटिङ भएर पनि आगलागी भएका घटना थुप्रै पाउन सकिन्छ । पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा आगलागी हुनुलाई धेरैले सामान्य घटनाका रुपमा लिन थालिसकेका छन् । आजकल यो चिन्ताको विषय रहेन । गाडी चलाउने सबै सहज भएर चलाउँछन् । यसको विषयमा अब चर्चा बन्द प्रायः छ ।

पछिल्लो एक दशकमा विद्युतीय गाडीले बामे सर्ने प्रयास गरेको देखिन्छ । यसबीचमा अमेरिकी कम्पनी टेस्लाका कारमा आगलागीको करिब एक दर्जन घटना बाहिर आए, चीनमा बनेका विद्युतीय स्कुटर पड्केका समाचार चार पाँच वर्षअघि खुबै आउँथे । अहिले भारतीय दुई पाङ्ग्रे उत्पादकले बनाएका स्कुटरमा आगलागी भएका तस्विर र भिडियो आइरहेका हुन्छन् । यसलाई सामान्य रुपमा नै लिन सक्नुपर्छ । नयाँ टेक्नोलोजीमा समस्या आउँछ तर, के समस्या आयो भनेर खोज्नु र समस्या पत्ता लगाउनुलाई चाहिँ उपलब्धी मान्नुपर्छ ।

सडकमा गुड्दा गुड्दै टेस्लाको कारमा आगो लाग्यो, हुन्डाई कोना चार्जिङ गरिरहेको अवस्थामा जलेर नस्ट भयो, सन् २०२२ मा चीनमा ६४० इलेक्ट्रीक साधनमा आगलागी भएकाे समाचार हामीले सुनेका छौं । यी अधिकांश घटनामा मानविय क्षती भएको छैन ।

विद्युतीय कारमा आगलागीको मुख्य कारण सट-सर्किट, ओभर हिटिङ जस्ता छन् । त्यसैले गुडी रहेकै अवस्थामा आगलागीको सम्भावना अत्यन्त न्यून रहेको कारण मानविय क्षती भएको पाइदैन । गाडी जल्ने अवस्था आउँनु भन्दा पहिला गुड्न छाड्ने भएको कारण चालक वा प्यासेन्जरको जीवन जोखिममा परेकाे देखिदैन । अहिलेसम्म भएका दुर्घटनाको तथ्यांकले त्यहि देखाउँछ । विश्वभर भएका ईभीको आगलागीका घटना ६६ प्रतिशत गर्मी महिनामा र ३४ प्रतिशत जाडो महिनामा भएको पाइन्छ ।

मंगलवार मुम्बाईमा भएको नेक्सन ईभीमा आगलागीको घटनालाई सामान्य दुर्घटनाको रुपमा बुझ्नु पर्छ । यहाँ कुनै मानविय क्षेत्री भएको छैन । यतिसम्म की आगो नियन्त्रण गर्न दमकल लगायतका साधनको ब्यवस्था गर्न भ्याएकोले रोकेको धेरै समयपछि आगो बलेको हुनसक्छ । अर्काे विषय याे दुर्घटना पनि गर्मी महिनामै भएकाे छ ।

यसलाई टाटा मोटर्स र भारत सरकारले अत्यन्त गम्भीरता पूर्वक लिएर के कारण यस्तो भयो भन्ने विषय खोजतलास गर्नसके भने यसले आमनागरिक तहमा रहेको डरलाई मेटाउने सहयाेग गर्छ । त्यतातर्फ टाटा र सरकार लागि सकेकाे समाचार भारतीय मिडियामा आएका छन् ।

त्यसोत टाटा भारतकै सबैभन्दा ठूलो कार, स्टील, सफ्टवयर जस्ता बस्तु र सेवा उत्पादकमा पर्छ । त्यसैले यो घटनाको भित्रैसम्म पस्न उसले कुनै कसर बाँकी राख्दैन  हाेला । त्यसमाथि सरकारले पनि छुट्टै जाँचबुझ गर्ने निर्णय लिएको कारण यसको यथार्थ चाँडै हाम्रो माझमा आउने नै छ ।

भारतमा करिब ३० हजार यूनिट नेक्सन इभी गुडेको छ भने नेपालमा पनि ६ सयभन्दा बढी नेक्सन सडकमा चलिरहेका छन् । यसले नेक्सनको लोकप्रियतालाई देखाएको छ भने विद्युतीय कारमा भारतीय र नेपाली ग्राहक तयार रहेको संदेश पनि दिएको छ ।

टेक्नोलोजीले ल्याउने समस्यासँग हामी भाग्ने होइन, सजग हुने हो । विद्युतीय सवारी संसारको लागि नयाँ भएपनि यसमा लामो खोज र अनुषन्धान भएको तथ्य हामीबाट छिपेको छैन । विश्वमा बढ्दो प्रदुषण र जलवायु परिवर्तनको असर कम गर्न पनि पेट्रोलियम पदार्थको उपयोग घटाउनु हामी सबैको दायित्व हो । यो दायित्वबाट हामी पन्छिन मिल्दैन । त्यसैले सजग रहौं, सचेत बनौं र विद्युतीय साधनको प्रयोग बढाउँ ।

(लेखक पौडेल अटोमोवाइल र वातावरण क्षेत्रमा रुची राख्छन्)


Back_to_top