काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रीक भेहिकलको लागि आवश्यक ब्याट्री उत्पादन गर्ने कम्पनी कन्टेमप्रोरी एम्पेरेक्स टेक्नलोजी लिमिटेड (सीएटीएल)ले अमेरिकी ईभी कम्पनीहरुलाई ध्यानमा राखेर मेक्सीकोमा नयाँ ब्याट्री प्लान्ट स्थापना गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका रिपोर्ट अनुुसार नयाँ बन्ने फ्याक्ट्रीले टेस्ला र फोर्डलाई विद्युतीय कार बनाउन ब्याट्री सप्लाई गर्नेछ । सीएटीएलले नयाँ प्लान्ट स्थापना गर्नका लागि मेक्सीकोमा ५ बिलियन डलर लगानी गर्ने योजना अगाडि सारेको हो । कम्पनीले उक्त लगानी मेक्सीको र अमेरिकामा आगामी दिनमा स्थापना हुन सक्ने ब्याट्री प्लाटका लागि छुट्याएको हो ।
सीएटीएलले ब्याट्री सेलको उत्पादन मेक्सीकोमा गर्ने र अमेरिकाको केन्टुकीमा लगेर टेस्ला र फोर्डका लागि आवश्यक साइजको ब्याट्री प्याक बनाउने योजना अगाडि सारेको हो ।
एक अर्को रिपोर्टले सीएटीएल कम्पनीले अमेरिकको केन्टुकीमै ब्याट्री प्लान्ट स्थापना गर्ने सम्भावना पनि रहेको उल्लेख गरेको छ । सीएटीएलले विश्वभर उत्पादन हुने इलेक्ट्रीक कारको ३० प्रतिशतमा एक्लै ब्याट्री सप्लाई गरिरहेको छ ।
अमेरिकी बजारमा बढ्दो ईभीको माग र उत्पादनलाई मध्यनजर गर्दै सीएटीएलले यो प्लान्ट स्थापना गर्न लागेको हो । तर, कहाँ र कहिले प्लान्ट स्थापना गर्ने भन्ने निर्णय आगामी दिनमा विकास हुने अमेरिकी र चाइनीज राजनितीक घटना क्रमले निक्यौल गर्नेछ ।


