मारुती सुजुकी ‘ग्राण्ड भिटार’ सार्वजनिक, माइलेज २८ किमि प्रतिलिटर

काठमाडौं । टोयोटाले कम्प्याक्ट एसयूभी हाइराइडर लन्च गरको केही दिनमै मारुती सुजुकीले त्यही प्लेटफर्म र इन्जिनमा ‘ग्राण्ड भिटारा’ सार्वजनिक गरेको छ ।

सुजुकीले पहिलो पटक हाइब्रिड इन्जिनसहित लन्च गरेको ग्राण्ड भिटाराले यही सेग्मेन्टमा लामो समयदेखि एकछत्र राज गरिरहेको हुन्डाई क्रेटाको बजारमा के कस्तो प्रभाव पार्ने हो भन्ने विषय अहिले चर्चामा छ ।

यही सेग्मेन्टमा किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक, निसान किक्स र एमजी एस्टरका साथै केही दिनअघि टोयोटाले सार्वजनिक गरेको अर्बान क्रुजर हाइराइडरसँग प्रतिस्पर्धा गर्नेछ ।

सुजुकी ग्राण्ड भिटाराको लम्बाई हुन्डाई क्रेटाको जस्तै ४.३ मिटरको रहेको छ । ग्राण्ड भिटारामा थप फिचरको रुपमा अलह्वील ड्राइभ अप्सन उपलब्ध छ । यसलाई कम्पनीले अलग्रिप भनि प्रमोट गरेको छ ।

ग्राण्ड भिटारामा १.५ लिटर फोर सिलिण्डर, के१५सी डिउलजेट पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ, यही इन्जिन ब्रेजामा पनि उपलब्ध छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।

कम्पनीले भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । यो हाइब्रिड इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । यसको माइलेज अविश्वसनिय छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दावी गरेको छ । यो ई–सिभिटी गियरबक्समा उपलब्ध हुनेछ ।

सेफ्टी फिचरको रुपमा टप स्पेक भिटारामा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ ।

मारुती सुजुकीले ग्राण्ड भिटारामा आफ्नो कारहरु मध्ये पहिलो पटक पानारोमीक सनरुफ पनि दिएको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर पाउन सकिन्छ ।

टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ ।

ग्राण्ड भिटारामा अलह्वील ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टसका साथै लक टेरेन मोड समेत छ । ड्राइभ कम्फर्टका लागि इभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।


Back_to_top