काठमाडौं । सरकारले आयत प्रतिबन्ध नलगाएको भए अबको २०/२२ दिनपछि टाटा मोटर्सको पन्च र सिट्रोनको सीथ्री मोडल बीच नेपाली बजारमा कडा प्रतिस्पर्धा सुरु हुन्थ्यो ।
साना एसयूभी सेग्मेन्टमा टाटा मोटर्सले ल्याएको पन्च अहिले जसरी भारतमा सफलता चुमिरहेको छ । त्यसले नेपालमा पनि राम्रै ब्यापार गर्ने अपेक्षा गरिएको छ । त्यही फ्रेन्च कार निर्माता सिट्रोनले पन्चभन्दा कम मूल्यमा सीथ्री बजारमा उतारेर कडा चुनौती प्रस्तुत गरेको हो ।
बढ्दो माइक्रो एसयूभी सेग्मेन्टको क्रेजलाई क्यास गर्न सिट्रोनले निसान म्याग्नाइटकै साइजमा सीथ्री ल्याएको छ । लम्बाईमा म्याग्नाइट, काइगर र ब्रेजा जत्रो भएपनि कम उचाईको कारण सीथ्री सानो देखिन्छ । त्यसैले यसले पन्चदेखि म्याग्नाइटसम्मको बजार खोस्ने प्रस्टै देखिन्छ ।
सिट्रोन सीथ्री साइजमा चल्तीका सब कम्प्याक्ट एसयूभीहरु जत्रै भएपनि कम्पनीले यसलाई ह्याचव्याक भनेर प्रमोट गरिरहेको छ । सिट्रोन सीथ्री र टाटा पन्चको बाहिरी आवरणको तुलना गर्दा सीथ्री लम्बाईमा ठूलो भएता पनि टाटा पन्चको चौडाई, उचाई, ह्वीलवेस, ग्राउण्ड क्लियरेन्स र बुटस्पेश धेरै छ ।

भारतमा सीथ्रीको बेस मोडलको मूल्य सेग्मेन्टमै सबैभन्दा कम ५ लाख ७१ हजार रहेको छ भने टाटा पन्चको बेस मोडल मूल्य ५ लाख ९३ हजार पुगेको छ । यसका आधारमा सीथ्रीले टाटा पन्चलाई राम्रै प्रतिस्पर्धा गर्ने देखिन्छ ।
दुबै कारमा समान ३ सिलिण्डर १.२ लिटर क्षमताको पेट्रोल इन्जिन रहेको छ । जसमा पन्च र सीथ्रीको पावर क्रमशः ८४ र ८१ हर्सपावर र टर्क क्रमशः ११३ र ११५ एनएम छ । सिट्रोनले सीथ्री टर्बो इन्जिनमा पनि उपलब्ध गराएको छ । टर्बो इन्जिनको पावर १०९ हर्सपावर छ ।

इन्जिनका अलाबा दुबै कारमा समान ५ स्पीडको म्यानुअल गियरबक्स उपलब्ध छ । एआरएआईले प्रमाणित गरेअनुसार प्रतिलिटर माइलज पनि पन्च र सीथ्रीको क्रमशः १८.९७ र १९.८ किलोमिटर रहेको छ । यसमा सीथ्रीले लगभग १ किलोमिटर बढी माइलेज दिने देखिन्छ ।
फिचरको तुलना गर्दा दुबैमा नयाँ बीएस सिक्स इन्जिन प्रयोग भएको छ । दुबै गाडीको फ्रन्ट साइडमा दुई एयरव्याग र इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

दुबै कारमा अगाडि पावर विन्डो दिइएको छ । यसका अलावा सीथ्रीको बेस मोडलमा थप ब्रेक असिस्ट सिस्टम समेत छ । टाटा पन्चमा पावर डोरलक र चाइल्ड सेफ्टीलक थप रहेको छ । सिटोन सीथ्रीमा गियर सिफ्ट इन्डीकेटर पाउन सकिन्छ । टाटाले पन्चलाई दुई ड्राइभिङ मोडमा उपलब्ध गराएको छ ।
नेपाली बजारमा समान २८ देखि ४० लाख भित्र मूल्य कायम भएर आउने यी दुई प्रतिस्पर्धीले गर्ने ब्यापार कस्तो रहन्छ, त्यो सबैको चसोको विषय बन्ने भएको छ ।


