काठमाडौं । नाडा अटो शो २०२२ स्थगित भएपछि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक ‘ईभी शो २०२२’ आयोजना गर्ने निर्णय गरेको छ ।
आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी शोमा चारपाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय साधन प्रदर्शनीमा राखिने छ । यो ईभी एक्स्पोको उद्देश्य गाडी देखाउने मात्रै नभएर विक्री पनि भएको प्रष्टै हुन्छ ।
नेपालमा चाडपर्वको मुखैमा गाडीको विक्री अत्याधिक हुने र नवरथाको मुखैमा एक्स्पो सुरू हुने भएको कारण धेरै कम्पनीले विक्रीमा मुख्य ध्यान केन्द्रित गर्नेछन् । दशैं–तिहारको समयमा वार्षिक विक्रीको करिब ४० प्रतिशत साधन विक्री हुने र अहिले पेट्रोलको मूल्य आकाशिएको, पेट्रोलियम पदार्थबाट चल्ने साधन आयातमा प्रतिबन्ध लागेको कारण धेरैले विद्युतीय साधन किन्ने अपेक्षा गरिएको छ ।
ईभी शोमा मुख्यतः चार पाङ्ग्रे साधनमा नै धेरै मानिसको आकर्षण रहने छ । जहाँ २० लाखदेखि १ करोड २० लाखसम्म मूल्य पर्ने इलेक्ट्रीक कार प्रदर्शनी र विक्रीको लागि रहने अपेक्षा गरिएको छ । यस्तोमा हामीले ईभी शोको मुख्य आकर्षण बन्न सक्ने चार मोडलको बारेमा चर्चा गरेका छौं ।
१. आयोनिक ५
हुन्डाईले नेपालमा विक्री गर्दै आएको आयोनिक ५ मेलाको मुख्य आकर्षण मध्येको एक मोडल हुनेछ । अहिले १ करोड १६ लाख ९६ हजार मूल्य रहेको आयोनिक ५ भविष्य केन्द्रित डिजाइनको कारण संसारभर चर्चामा रहेको मोडल हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री वितरण गर्दै आएको आयोनिक ५ मा ५८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले एक पटकको फुलचार्जमा ३५० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आयोनिक ५ मा १२५ किलोवाट पीक पावर भएको मोटर जडान गरिएको छ । हुन्डाईको ८०० भेल्ट आर्किटेक्चरमा तयार भएको यो कारले ३५० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जरसमेत सपोर्ट गर्न सक्छ । यो फिचर लोडेड क्रसओभर कार हो ।
२. एटो थ्री
केही दिन भित्रै नेपालमा विक्री सुरू हुन लागेको एटो थ्री ईभी अटो एक्स्पोको लागि विल्कुलै नयाँ मोडल हुनेछ । बीवाइडीको ब्लेड ब्याट्री र डार्गन ३.० डिजाइन ल्याङ्वेजको कारण चर्चामा रहेको एटो थ्री निकै आकर्षक डिजाइनमा तयार भएको देखिन्छ ।

साइमेक्स इंकले नेपालमा विक्री गर्ने तयारी गरिरहेको एटो थ्री पावर, ब्याट्री क्षमता र म्यूजिक तथा स्पोर्टस्बाट प्रेरित रहेको क्याबिन लेआउटको कारण संसारभर चर्चा कमाउन सफल भएको हो ।
अहिल्यै यसको मूल्य कति कायम हुन्छ भन्ने विषयमा एकीन नभए पनि करिब ८५ देखि ९० लाख भित्रै मूल्य कायम हुने अपेक्षा गर्न सकिन्छ । एटो थ्रीमा ६० किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा ४२० किलोमिटरसम्म गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा १५० किलोवाट पीक पावर भएको मोटर जडान भएको छ ।
३. नेक्सन ईभी
अहिले बजारको हटकेक मोडल नेक्सन ईभी सर्वाधिक सफल मध्येको एक मोडल हो । नेपाल आएको एक वर्षमा ७०० यूनिट विक्री भएको नेक्सन ईभीको ५ भेरियन्ट नेपालमा उपलब्ध छ ।

सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको नेक्सन ईभी ३७ लाख ९९ हजारदेखि ४३ लाख ९९ हजारसम्म मूल्य तोकेर विक्री हुँदै आएको छ । मूल्यको हिसाबले ठीकठाक नेक्सन ईभी ग्राउन्ड क्लियरेन्स अन्य फिचरको लागि ‘पैसा असुल’ मोडल हो ।
टाटा नेक्सनमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ९५ किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसले पनि आगामी ईभी शोमा धेरैको ध्यान खिच्ने पक्का जस्तै छ ।
४. नेटा भी
क्रसओभर कम्प्याक्ट कार खोज्ने ग्राहकको लागि मुख्य आकर्षण बन्न सक्ने नेटा भी पनि धेरै अवलोकनकर्ताको लागि नयाँ मोडल हो । चिनियाँ होजोन मोटर्सको उत्पादन नेटा भी ईभी एक्स्पोमा धेरै हेरिने मोडलमा पर्न सक्छ ।

सीजी मोटर्सले नेपाली बजारमा ल्याएको नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यसमा १ लाख ४० हजार रुपैयाँ बराबरको स्कीम दिइरहेको कारण यसमा ग्राहकको आकर्षण बढ्न सक्नेछ ।
नेटा भीमा ३८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ भने ७० किलोवाट पीक पावर भएको मोटर जडान भएको छ । यसले एक पटकको फुलचार्जमा ३५० किलोमिटर माथि रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।


