काठमाडौं । बैंक ब्याजदरको कारण गाडी किन्ने मानिसले १४ देखि १६ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने भएको छ । अघिल्लो वर्ष यही समयमा ८ प्रतिशत हाराहारी ब्याजदर थियो ।
एक वर्षमा नै ब्याजदर दोब्बर भएसँगै गाडी किन्ने मानिसले धेरै ब्याज वापत रकम खर्च गर्नु पर्ने भएको छ । एक वर्षअघि ३९ हजार मासिक किस्ता तिर्दा पुग्ने हुन्डाई क्रेटाको वेस भेरियन्ट किन्न अहिले मासिक झण्डै ४८ हजार रुपैयाँ तिर्नु पर्छ ।
अहिले बैंक क्षेत्रले औषतमा १५ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेका छन् । ब्यक्तिले गाडी किन्दा अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । ४९ लाख ५६ हजार मूल्य रहेको क्रेटाको बेस भेरियन्ट किन्न २४ लाख ७८ हजार रुपैयाँ डाउन पेमेन्ट वापत चाहिन्छ । बाँकी त्यतिनै रकम ७ वर्षसम्म ४७ हजार ८१७ रुपैयाँका दरले तिर्नु पर्छ ।
बैंकबाट कर्जा लिएर गाडी किन्ने मानिसको आम्दानी मासिक किस्ताको दोब्बर अर्थात १ लाख रुपैयाँ हुनुपर्छ । त्यसैले मासिक १ लाखभन्दा कम रकम आम्दानी गर्ने मानिसले क्रेटा कर्जामा लिएर खरिद गर्न सक्दैनन् ।
क्रेटाको टप भेरियन्ट एसएक्स (ओ) आईभीटीको मूल्य ७७ लाख ५६ हजार रुपैयाँ तोकेर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री गर्दै आएको छ । यसलाई किन्ने मानिसले ३८ लाख ७८ हजार रुपैयाँ डाउन पेमेन्ट र त्यति नै रकम कर्जा सुविधा लिन सक्ने छन् । यसरी कर्जा लिएको रकम मासिक ७४ हजार ८३२ रुपैयाँका दरले ७ वर्षसम्म तिर्नु पर्ने हुन्छ । यसलाई किन्ने मानिसको आम्दानी मासिक १ लाख ५० हजार हाराहारी हुनुपर्छ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा चल्तीको मोडल हुन्डाई क्रेटा नेपाली बजारमा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । कम्पनीले क्रेटाको पेट्रोल इन्जिनमा ५ र डिजेल इन्जिनमा २ भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ ।

