काठमाडौं । विगत ५ महिनादेखि नयाँ गाडी आयातको लागि एलसी खोल्न नपाए पनि स्टकमा रहेको गाडी विक्री गर्न विक्रेताहरुले दशैं स्कीम ल्याउने तयारी गरेका छन् ।
विगतदेखि नै स्कीममा जोड दिदै आएको हुन्डाई, मारुती सुजुकी, टाटा, निसान जस्ता ब्राण्डसँग केही मोडल स्टकमा रहेको कारण कम्पनीहरुले चाडपर्व लक्षित स्कीम आउने अनुमान गरिएको छ ।
समय ठिकठाक भएको थियो भने अहिले नाडा अटो शो २०२२ चलिरहेको हुन्थ्यो । त्यही अटो शोबाट दशैं स्कीम घोषणा गरेर कम्पनीहरुले गाडी विक्री गर्थे । तर, यसपटक सरकारले आयात प्रतिबन्ध लगाएको कारण गाडी ल्याउन नसक्दा नाडा अटो शो २०२२ रोकिएको थियो ।
यसअघिका दुई संस्करण कोभिड १९ को कारण रोकिएको नाडा अटो शोको लागि यो वर्ष सरकारको नीति बाधक बनेको थियो । सिमित गाडी स्टकमा भएपनि बैंकले फाइनान्स सुविधा सहज नगर्दा गाडी किन्ने मानिसले कर्जा पाउन सकेका छैनन् ।
‘विगतमा जस्तो ठूला स्कीम यसपटक आउने सम्भावना छैन । यद्यपि, दशैं–तिहारको समयमा ग्राहकले पनि केही अपेक्षा गर्ने हुँदा स्कीम निर्माणमा जुटेका छौं’, एक गाडी विक्रेताले मेरोअटोसँग भने ।
अहिले कुन ब्राण्डको अवस्था के छ भन्ने लुकाउन पनि कम्पनीहरु स्कीम लगायतका विषयमा खुलेर कुरा गर्दैनन् । कारमा धेरै ठूलो स्कीम नआएपनि मोटरसाइकल तथा स्कुटर विक्रेताहरुले भने स्कीम ल्याउने छन् ।
आजको दिनमा पनि कम्पनीहरुले स्कीम दिएर मोटरसाइकल विक्री गर्दै आएका छन् । उनिहरुले सेप्टेम्बर पहिलो सातासम्ममा मोटरसाइकल तथा स्कुटरको स्मीक दिइसक्ने छन् ।
विशेषत दशैंमा बजाज, होन्डा, हिरो, टीभीएस, यामाहा, सुजुकी जस्ता ब्राण्डले स्कीम सार्वजनिक गर्नेछन् । यसका अलावा ईभी एक्स्पो २०२२ लाई मध्यनजर गर्दै विभिन्न इलेक्ट्रीक सवारीसाधन विक्रेता कम्पनीले स्कीम ल्याउने अपेक्षा गर्न सकिन्छ । यसको विषयमा कुनै पनि ब्राण्डले अहिल्यै आफ्नो योजना अगाडि ल्याएका छैनन् ।
ईभी एक्स्पो २०२२ आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । विभिन्न ९ ब्राण्डका चार पाङ्ग्रे र एक दर्जन ब्राण्डका दुई पाङ्ग्रे साधन ईभी एक्स्पोमा सहभागि हुनेछन् ।


