काठमाडौं । यूरोपियन ब्राण्ड स्कोडाको मिडसाइज एसयूभी कुशकमा १० लाख तिरेर किन्न पाइने स्कीम चलिरहेको छ । स्कोडाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बिगत तीन महिनादेखि यो स्कीम चलाइ रहेको छ ।
नेपाल आएदेखि नै ग्राहकको रोजाईमा पर्न सफल कुशक टर्बो इन्जिन भएको एसयूभी हो । फक्सवागेन ग्रुपको चर्चित १.० लिटर टीएसआई इन्जिन दिइएको कुशक उच्च माइलेज र उत्कृष्ट डिजाइनको लागि परिचित छ ।
कम्पनीले ल्याएको १० लाखको स्कीममा गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउन पेमेन्ट वापत तिरेर गाडी घर लान सक्नेछन् । कम्पनीले अहिलेको तरलता संकटमा आफ्नो व्यापार प्रवद्र्धन गर्न १० लाख तिरेर गाडी लगेको २ महिनासम्म मासिक किस्ता पनि तिर्नु नपर्ने बनाएको छ ।
दुई महिनासम्म मासिक किस्ता तिर्न नपर्ने भएपनि सुरुमा तिरेको १० लाखमा अरु पैसा थप गरेर दुई महिना भित्रै गाडीको मूल्यको ३० प्रतिशत डाउन पेमेन्ट पुर्याउनु पर्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले कुशकमा ३० प्रतिशत डाउन पेमेन्ट पुर्याएसँगै बाँकी ७० प्रतिशतले हुन आउने रकम ७ वर्ष भित्र मासिक किस्ता तिर्नेगरी कर्जा लिन सकिने छ । यसका लागि एमएडब्लूले आफ्नै इन्भेष्टमेन्ट कम्पनी एमएडब्लू इन्भेष्टमेन्ट कम्पनी मार्फत सजिलै फाइनान्स सेवा उपलब्ध गराउने जनाएको छ ।
अहिले बैंकको ब्याजदर नै १५/१६ प्रतिशत पुगेको समयमा कम्पनीले पनि १५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने छ । यसलाई उदाहरणमा हेरौं, कम्पनीको स्कीम अनुसार ग्राहकले कुशकको बेस भेरियन्ट एक्टीभ किन्ने योजना बनाउँदा १४ लाख ९७ हजार डाउन पेमेन्ट वापत बुझाउनु पर्छ ।
सुरुमा १० लाख बुझाएपछि बाँकी ४ लाख ९७ हजार अर्को दुई महिनाभित्र तिर्ने सुविधा ग्राहकले पाउने छन् । कुशक एक्टीभ भेरियन्टको मूल्य ४९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

डाउन पेमेन्टपछि बाँकी ३४ लाख ९३ हजार रुपैयाँ एमएडब्लू इन्भेस्टमेन्ट मार्फत कर्जा सुविधा लिन पाइन्छ । सात वर्षमा कर्जा भुक्तान गर्नेगरी कर्जा लिँदा मासिक ६८ हजार ३ सय ८७ रुपैयाँ किस्ता तिर्नु पर्छ ।
आफ्नो आवश्यकता र बजेट अनुसार ग्राहकले कुशक विभिन्न पाँच भेरियन्टमा छनोट गर्न सक्ने छन् । एक्टीभ, एम्बीयन्ट र स्टाइल गरी तीन म्यानुअल गियरबक्स साथै एम्बीयन्ट र स्टाइल दुई अटोमेटीक गियरबक्समा कुशक किन्न पाइन्छ । यसको टप भेरियन्टको मूल्य भने ७१ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।


