टिगोर ईभी र नेटा भीमा यस्ता छन् भिन्नता, मूल्य र फिचरसहित

काठमाडौं । नेपालमा विद्युतीय कारको विक्री बढेसँगै नयाँ नयाँ प्रतिस्पर्धीहरु थपिदै गएका छन् । विशेषत सेडान, ह्याचव्याक र एसयूभी सेग्मेन्टमा विद्युतीय कार आउन थालेका छन् ।

केही महिनाअघि नेपाल आएका दुई इलेक्ट्रीक कार टाटा टिगोर ईभी र होजोन मोटरको नेटा भी कम मूल्यमा पाइने राम्रा इलेक्ट्रीक कारको सेग्मेन्टमा पर्छन् ।

चौधरी समूहले नेपाल ल्याएको नेटा भी क्रसओभर मोडल हो भने टाटा टिगोर सेडान कार हो । क्रसओभर डिजाइन भएपनि टिगोरमा भन्दा नेटा भीको ग्राउन्ड क्लियरेन्स कम छ । त्यसैले यी दुबै कार एउटै सेग्मेन्टमा पर्ने गाडी हुन् । सिप्रदी ट्रेडिङले टाटा टिगोर ईभी विक्री गर्दै आएको छ ।

यी दुई मध्ये तपाई कुनै कार छनोट गर्दै हुनुहुन्छ भने तपाईको सहजताको लागि हामीले यहाँ दुई बीचको भिन्नता केलाउने प्रयास गरेका छौं ।

रेन्ज

दाबी गरिएको रेन्ज नेटा भीको धेरै छ । कम्पनीले ३८६ किलोमिटर रेन्ज दाबी गरेको छ । यद्यपि, अहिलेसम्म बजारमा उपलब्ध गाडीले दाबी गरेको रेन्जको तुलनामा निकै कम पर्फमेन्स गरिरहेका छन् । यसलाई फुलचार्ज खत्तम हुनेगरी अहिलेसम्म परीक्षण गरिएको छैन । त्यसैले यसको रेन्ज कति भन्ने एकीन गर्न अहिल्यै कठिन छ ।

टाटा टिगोर ईभीको एआरएआइले प्रमाणित गरेको रेन्ज ३०२ किलोमिटर हो । तर, अहिले सडकमा गुडाइरहेका ग्राहकले २०० देखि २३० किलोमिटरसम्म मात्रै पाएका छन् ।

टाटाले टिगोर ईभीमा २६ किलोवाट आवर क्षमताको इनर्जी हाइडेनसिटी लिथियम आयोन ब्याट्री दिएको छ । नेटा भीमा भने ३८.५ किलोवाट आवरको एनएमसी ब्याट्री उपलब्ध छ ।

ग्राउन्ड क्लियरेन्स र साइज

 

ग्राउन्ड क्लियरेन्समा टाटा टिगोर अगाडि छ । टाटाले टिगोर १७२ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ । तर, नेटा भीमा १६० एमएमको मात्रै ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

अन्य साइजको कुरा गर्दा नेटा भीको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम र उचाई १५४० एमएम रहेको छ । यसमा २४२० एमएमको ह्वीलबेस रहेको छ । डिजाइनमा क्रसओभर भएको कारण यसमा १६ इन्चको ह्वीलको बाबजुद गाडी सानो लाग्छ ।

टाटा टिगोर ईभीको लम्बाई ३९९३ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३२ एमएम रहेको छ । यसमा २४५० एमएमको ह्वीलबेस पाउन सकिन्छ । दुवै गाडी ५ सिट क्षमताका हुन् ।

पावर

पावरमा नेटा भी अगाडि छ । नेटा भीमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । यसको पीकपावर ९५ पीस हो । टाटा टिगोरमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । यसको पीक पावर ७५ पीएस हो ।

सुरक्षा फिचर

दुवै कारमा सामान्य सुरक्षा फिचर एबीएस, इबीडी, पावर विन्डो, सेफ्टी लक, दुई एयरब्याग, सिटवेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर, पार्किङ क्यामेरा जस्ता फिचर छन् । दुवै कारमा एड्भान्स सेफ्टी फिचर समेत दिइएको छ । टाटा टिगोर ईभी ग्लोबल एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ प्राप्त गर्न सफल कार हो ।

होजोन नेटा भीमा पनि इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर, भेहिकल मेन्टीनेन्स रिमाइन्डर, हाइड्रोलिक ब्रेकिङ सिस्टम दिइएको छ ।

मूल्य

नेटा भी एउटा मात्रै भेरियन्टमा नेपाल आएको छ । यो एउटा स्मार्ट क्रसओभर कार हो । क्रसओभर कार भएकै कारण यसको मूल्य नेक्सनभन्दा कम रहेको छ । सीजी मोटरले नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने उसले एउटा ६.६ किलोवाटको होम चार्जर र एक वर्षको बीमा शुल्क दिने घोषणा गरेको छ ।

सिप्रदी ट्रेडिङले विक्री गर्दै आएको टिगोर ईभी विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको ३१ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार र एक्सजेड प्लस डिटी भेरियन्टको ३३ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ । सिप्रदीले इलेक्ट्रीक कार किन्नेलाई कुनै पनि अफर दिएको छैन ।

 


Back_to_top