काठमाडौं । फोटोन टुनल्याण्ड इ र टुनल्याण्ड एसजीको अत्यधिक सफलतापछि एमएडब्लू वृद्धिले नयाँ संस्करण टुजल्याण्ड इ प्लस मोडल बजारमा ल्याएको छ । कम्पनीले आजबाट यसको आधिकारीक विक्री सुरु गरेको हो ।
कम्पनीले यसअघि विक्री गर्दै आएको टुनल्याण्ड ईको तुलनामा नयाँ मोडलमा फिचरहरु थप भएर आएको छ । कम्पनीले यसमा नयाँ २.० लिटर इनलाइन डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३६०० आरपीएमकमा १४९.५५ पीएस पावर प्रदान गर्छ । साथै, १८०० देखि ३००० आरपीएममा ३२० एनएम पीक टर्क पाउन सकिन्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ ।
नयाँ टुनल्याण्ड इ प्लसमा इलेक्ट्रीक ब्रेक डिस्ट्रीब्यूसन सहितको एबीएस, एयरव्याग जस्ता फिचर उपलब्ध छ । गाडीमा थपिएका फिचरका अलावा टुनल्याण्ड इ प्लसले १०५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्छ । यसमा २२० एमएमको ग्राउण्ड क्लियरेन्स दिइएकोले सबैखाले बाटोमा यसलाई सहज चलाउन सकिन्छ ।
फोटोन टुनल्याण्ड इ प्लस स्पोर्टस लुक्समा तयार भएको पीकअप हो । यसको अगाडिको भाग निकै आकर्षक छ । क्रोम सहितको ग्रिल, बीचमा दिइएको फोटोनको लोगो, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, रनिङ्ग बोर्ड, क्ल्याम्पर, एन्टी–रोल ओभर बार र बेड लाइनर जस्ता उत्कृष्ट उपकरण यसमा पाउन सकिने कम्पनीले जनाएको छ । टुनल्याण्ड इ प्लसको मूल्य ६० लाख ९० हजार रुपैयाँ तोकेर कम्पनीले विक्री सुरु गरेको हो ।

