थाइल्याण्डमा भन्दा नेपालमा किन महंगो भयो नेटा भी ? यस्ता छन् कारण

काठमाडौं । नेपाल आयात सुरु भएदेखि नै विवादमा आएको नेटा भी पुनः एकपटक विवादमा आएको छ । चिनियाँ बजारमा विक्री हुने मूल्य र नेपालमा विक्री हुने मूल्यको बीच ठूलो अन्तर भएसँगै विवाद बढेको थियो । अहिले फेरी चीनबाट थाइल्याण्ड गएको गाडीको मूल्य नेपाली रुपैयाँ १९ लाख ४१ हजार २६० नेपाली रुपैयाँ कायम भएसँगै नेपालमा नेटा भीको मूल्य माथि प्रश्न उठेको हो ।

अहिले शोसल मिडियामा नेटा भीको मूल्यलाई लिएर चर्को बहस सुरु भएसँगै चौधरी ग्रुप अन्तर्गतको सीजी रेभुलुसनले यसको विषयमा स्पटीकरण दिनु परेको छ । होजोन अटोले बनाएको नेपाल र थाइल्याण्ड बजारमा विक्री हुने समान स्पेकको नेटा भीको मूल्य ५ लाख ४९ हजार भाट तोकेर विक्री सुरु भएको हो ।

आजको थाइभाट र नेपाली रुपैयाँ बीचको विनिमय दर अनुसार १ भाटको ३.५४ रुपैयाँ नेपाली रहेको छ । जसका आधारमा नेटाभी थाइल्याण्डको बजारमा जम्मा १९ लाख ४१ हजार २६० रुपैयामा विक्री भईरहेको देखिन्छ ।

यही मूल्यका आधारमा नेपालका इलेक्ट्रीक भेहिकल पारखीले नेटा भी महँगोमा विक्री भइरहेको दावी गर्दै आएका हुन् । नेपाली बजारमा नेटा भीको मूल्य ३७ लाख ९९ हजार रहेको छ ।

सीजी रेभुलुसनलको स्पष्टीकरण

थाइल्याण्डको मूल्यलाई लिएर नेटा भीको मूल्यको विषयमा चर्चा भएसँगै आयातकर्ता कम्पनी सीजीले आफ्नो अफिसियल फेसबुक पेजबाट स्पष्टीकरण दिएको छ ।

कम्पनीका अनुसार थाइल्याण्ड सरकार र चाइना बीच शून्य भन्सार (फ्रि ट्रेड एग्रीमेन्ट) सम्झौता रहेको छ । जसका कारण चाइनामा उत्पादन भएको नेटा भी थाइल्याण्डमा विक्री हुँदा कुनै पनि भन्सार र मूल्य अभिवृद्धि कर लाग्दैन ।

नेटा भी चीनबाट थाइल्याण्डमा आयात हुँदा थाइल्याण्ड सरकारले २ प्रतिशत अन्तःशुल्क लगाएको छ । यसमा अलावा थाई सरकारले नेटा भीलाई इलेक्ट्रीक भेहिकल भएको हुँदा थप ४१७८.२७ डलर सहुलियत समेत दिएको छ ।

जसको थाई विनिमय दर अनुसार १ लाख ५२ हजार २१४ भाट हुन्छ । नेपाली विनिमय दर अनुसार ५ लाख ३८ हजार १९२ रुपैयाँ सरकारले अनुदान दिएको हो । नेपाल सरकारले नेटाभीलाई आयातमा १० प्रतिशत भन्सार तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउँदै आएको छ ।

यसका अलाबा नेपालमा कुल आयात मूल्यको ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्दै आएको छ ।


Back_to_top