यस्ता छन् भाडामा पाइने इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय गाडीको उपभोग बढ्दै जान थालेसँगै यसको प्रयोगमा पनि विविधता आएको छ । एक दिनको लागि ईभी भाडामा लिएर आफ्नो काममा निस्कनु पर्ने मानिसलाई ध्यानमा राखेर इलेक्ट्रीक सवारीसाधन विक्रेता दिगो ग्रुप अन्तर्गत ‘सृबिट’ नामक कम्पनीले गाडी भाडामा उपलब्ध गराउँदै आएको हो ।

दिगो ग्रुपले आफ्नै ब्राण्ड नेममा विभिन्न किसिमका विद्युतीय सवारीसाधन विक्री गर्दै आएको छ । कम्पनीले प्यासेन्जर र कमर्शियल दुवै सेग्मेन्टमा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । यस्तोमा केही समयको लागि विद्युतीय गाडी भाडामा लिएर चलाउनेको लागि पनि कम्पनीले अवसर प्रदान गरेको हो ।

‘अहिले हामी विशेषतः सहरी क्षेत्रको लागि उपयुक्त गाडी भाडामा उपलब्ध गराउँदै आएका छौं । लामो यात्रा र धेरै मानिस बोक्न मिल्ने विद्युतीय गाडी पनि हामी भाडामा दिन्छौं’, सृबिट कम्पनीका रसिका थापाले मेरोअटोसँग भनिन् ।

कम्पनीले चालकसहित र आफैँ चलाउनेको लागि छुट्टाछुट्टै प्याकेज निर्माण गरेर गाडी उपलब्ध गराउँदै आएको छ । चालकसहित गाडी चाहिने मानिसले भ्याटसहित ४ हजार रुपैयाँ तिरेर एक दिनको लागि कार भाडामा लिन सक्ने छन् ।

कम्पनीले ४ हजार रुपैयाँमा ८ घण्टाको लागि मात्र गाडी उपलब्ध गराउने जनाएको छ । यदि ८ घण्टाभन्दा माथि प्रयोग गर्नु पर्ने भएको खण्डमा प्रतिघण्टा ३५० रुपैयाँ अतिरिक्त रकम भुक्तानी गर्नु पर्ने हुन्छ ।

कम्पनीले ४ हजार रुपैयाँमा उपलब्ध गराउने गाडी दिगोको इ-८ हो । यदि तपाईलाई त्योभन्दा ठूलो गाडी भाडामा लिन इच्छा भए कियाको सोल ईभी र ईएमथ्री पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । सोल ईभीको भाडा भने करसहित ६ हजार रुपैयाँ तोकिएको छ ।

आफैँ चलाउन पनि पाइने

चालकको प्रयोग नगरी आफैँ चलाउन चाहने ग्राहकको लागि भने एक महिना भाडामा लिनु पर्ने कम्पनीले जनाएको छ । हामीले चालक सधैँ राखेका हुन्छौं । त्यस्तोमा एकै पटक एक महिनाको लागि लिन चाहनेलाई मात्रै गाडी दिन सकिन्छ थापाले भनिन् ।

उनको अनुसार ई-८ कार भाडामा लिन चाहनेले मासिक ८० हजार रुपैयाँ (भ्याट बाहेक) तिर्नु पर्ने हुन्छ । त्यसैगरी, किया सोल लिन चाहनेले १ लाख २५ हजार र भ्याट तिर्नु पर्ने हुन्छ ।

यसरी आफैँ चलाउने गरी गाडी भाडामा लिँदा केही डकुमेन्ट पनि चाहिने कम्पनीले माग्ने छ । सक्कली नागरिकता, चालक अनुमतीपत्रको प्रतिलिपि, कम्पनीको कामको लागि हो भने कम्पनी दर्ता प्रमाण पत्र र प्यानमा दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ । साथै, ग्राहकले पछि फिर्ता लिन मिल्नेगरी १ लाख रुपैयाँ डिपोजिट गर्नु पर्ने कम्पनीको भनाइ छ ।


Back_to_top