काठमाडौं । नेक्सन ईभी र टिगोर ईभीबाट ठूलो सफलता हात पारेको टाटा मोटर्सले भारतको सबैभन्दा सस्तो ईभी निर्माण गर्ने घोषणा गरेको छ । टाटाले आगामी वर्षहरुको लागि ब्याट्री इलेक्ट्रीक भेहिकलको लामै लाइन अप बनाएपनि तुरुन्तै र धेरै मानिसले किन्न सक्ने मूल्यमा विक्री गर्न टियागोको इलेक्ट्रीक मोडल ल्याउने घोषणा गरेको हो ।
हुनत टाटाले सन् २०१८ कै अटो एक्स्पोमा टियागो ईभीको कन्सेप्ट देखाएको थियो । तर, गाडी ल्याउने समयमा नेक्सन र टिगोरलाई पहिला ईभीमा उत्पादन गरेको थियो ।
आज विश्व ईभी दिवसको अवसर पारेर टाटाले सबैभन्दा अफोटेबल ईभी टियागो बनाउने घोषणा गरेको हो । टाटा मोटर्सले इभी पोर्टफोलीयो विकासका लागि तीन फेजको अप्रोच बनाएको छ । आगामी वर्षहरुमा टाटाले फरक फरक प्रोडक्ट सेग्मेन्ट, बडी स्टाइल र फरक मूल्यमा आधारित रहेर १० वटा ईभी बजारमा ल्याउने लक्ष्य राखेको छ ।
टियागो ईभीमा नेक्सन र टिगोरमा प्रयोग भएकै जीपट्रोन टेक्नलोजी हुनेछ । टाटाले कमर्शियल सेग्मेन्टमा एक्सप्रेस टी टेक्नलोजीको प्रयोग गर्ने गरेको छ ।

टियागो ईभीको एक्टेरियर अहिले विक्री भइरहेको आईसी इन्जिन मोडलभन्दा धेरै फरक हुनेछ । टियागो ईभीमा पनि टाटाको सिग्नेचर ईभी कलरको रुपमा प्रयोग गर्दै आएको टेल व्ल्यू र डेटोना ग्रे कलर हुनेछ । यसका साथै टाटाको टियागो ईभीको इन्टेरियर र एक्टेरियरमा थुप्रै स्थानमा ब्लु एसेन्टको प्रयोग हुनेछ ।
यसमा हुने इन्ट्रुमेन्ट क्लस्टर टिगोर ईभीकै जस्तो हुनेछ । यसको गियर लिभरलाई रोटर नवले रिप्लेस गर्ने छ । यो कारमा टाटाले ब्याट्रीलाई कहाँ प्लेस गर्छ भन्ने जानकारी दिएको छैन ।


