विश्वभर विद्युतीय गाडीको बजार हिस्सा १० प्रतिशत, नेपालमा अझै बढी

काठमाडौं । विश्वभर विद्युतीय सावरीसाधनको माग उच्च रहेको छ । अहिले विद्युतीय कार उत्पादनमा आक्रमक तरिकाले लागेका बीवाइडी र टेस्ला जस्ता कम्पनीको कारण न्यू इनर्जी भेहिकलको मासिक विक्री ८ लाख यूनिट पुग्न लागेको हो ।

क्लीनटेक्नीका डटकमका अनुसार सन् २०२२ को सेप्टेम्बर महिनाबाट विश्वभर मासिक ८ लाख यूनिट कार विक्री हुनेछ । यो तथ्यांक अनुसार भए अब विश्वमा विद्युतीय कारको हिस्सा १४ प्रतिशत पुग्ने देखिन्छ ।

क्लीनटेक्नीकाले सार्वजनिक गरेको तथ्यांकमा पूर्ण विद्युतीय र हाइब्रिड कारको तथ्यांक समावेस गरिएको छ । उसले जुलाई २०२२ सम्मको तथ्यांक लिएर औषतमा यो वर्ष १० प्रतिशत क्लिन इनर्जी भेहिकल विक्री गरेको जनाएको छ ।

क्लीन इनर्जी भेहिकलमा पनि पूर्ण विद्युतीय कारको बजार विस्तार तिब्र गतिमा भइरहेको छ भने हाइब्रिडको विस्तार केही मन्द गतिमा भइरहेको छ । विश्वभर नै ३० देखि ४० किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएका गाडी खोज्ने ग्राहक धेरै रहेको देखिन्छ ।

नेपालको अवस्थाको विषयमा कुरा गर्ने हो भने आर्थिक वर्ष २०७८/७९ मा नै करिब १२ प्रतिशत बजार हिस्सा ईभीको पुगेको छ । यस हिसावले हेर्ने हो भने नेपाल झनै तिब्र गतिमा विद्युतीय गाडी प्रति आकर्षित भएको देख्न सकिन्छ ।


Back_to_top