काठमाडौं । विश्व बजारमा अहिले सर्वाधिक चर्चामा रहेको विद्युतीय कारमा एकपछि अर्को नयाँ मोडल आइरहेका छन् । नयाँ मोडल आयातसँगै कम्पनीहरु विक्रीमा प्रतिस्पर्धा गर्न थालेका हुन् ।
बीवाइडी न्यू इनर्जी भेहिकल उत्पादन र विक्री वितरणमा सबैभन्दा अगाडि पुगेको छ । कम्पनीले सन् २०२२ लागेसँगै टेस्लालाई पछाडि छाडेको हो । यी दुबै ब्राण्डलाई पच्छाई रहेको फक्सवागेन पनि नयाँ नयाँ मोडल बजारमा ल्याइरहेको छ ।
तर, यहाँ हामीले बीवाइडीले केही दिन अघिमात्रै नेपाल ल्याएको एटो ३ र फक्सवागेनले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको आइडी फोर स्टायडर्ड भेरियन्टको बीचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
ब्याट्री
बीवाइडी एटो ३ मा ६० किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । बीवाइडीले उत्पादन गरेको लेटेस्ट ब्लेड ब्याट्री रहेको एटो ३ ब्याट्री सुरक्षाको लागि विश्वकै सुरक्षीत एसयूभी हो । यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।

फक्सवागनले आइडी ४ मा एलजी केमले उत्पादन गरेको ब्याट्री प्रयोग गरेको छ । कम्पनीले ६२ किलोवाट आवरको ब्याट्री दिएको छ । यो ब्याट्रीलाई फुल चार्ज गर्दा ३३५ किलोमिटर गुडाउन सकिने छ ।
पावर
नेपाली बजारमा फक्सवागेन आइडी ४ आएको छैन । अन्तर्राष्ट्रिय बजारमा भने आइडी ४ को स्टायडर्ड भेरियन्ट रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध रहेको छ । तर, यसको टप भेरियन्ट भने अल ह्वील ड्राइभमा पनि उपलब्ध रहेको छ । यसको स्टायडर्ड भेरियन्टमा पीकपावर १५० किलोवाटको मोटर दिइएको छ ।
बीवाइडी एटो ३ पनि दुई अप्सनमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध रहेको छ । तर, नेपालमा साइमेक्स इंकले लङ रेन्ज मोडल मात्रै उपलब्ध गराएको छ । यसमा फ्रन्ट ह्वील ड्राइभिङ सिस्टम उपलब्ध छ । एटो ३ मा फक्सवागेन आइडी ४ कै समान १५० किलोवाट आवरको मोटर दिइएको छ । समान मोटर साइजमा उपलब्ध रहेपनि एटो ३ निकै धेरै रेन्ज दिने क्षमता राख्छ ।
साइज
साइजमा फक्सवागेन आइडी ४ केही ठूलो छ । आइडी ४ को लम्बाई ४५८४ एमएम छ भने एटो ३ को लम्बाई ४४५५ एमएम रहेको छ । चौडाईमा एटो ३ अगाडि रहेको छ । एटो ३ को चौडाई १८७५ एमएम छ भने आइडी ४ को १८५२ एमएम छ ।

उचाईमा पनि आइडी ४ अगाडि छ । आइडी ४ को उचाई १६३६ एमएम छ भने एटो ३ को १६१५ एमएम रहेको छ । दुबैमा लगभग उस्तै बुट स्पेश पाउन सकिन्छ । एटो ३ मा ४४० र आइडी ४ मा ४८४ लिटरको बुट स्पेश रहेको छ ।
फिचर
फिचरमा बीवाइडी एटो ३ केही अगाडि रहेको छ । आधुनिक डिजाइनमा तयार भएको एटो ३ को इन्टेरियर यूनिक रहेको छ । दुबै एसयूभीमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, लग्जरी सिट, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ठूलो साइजको ह्वील, सबै एलइडी लाइट, ७ वटासम्म एयरब्याग, एडीएएस सुरक्षा फिचर उपलब्ध रहेका छन् ।
मूल्य
बीवाइडी एटो ३ नेपालमा ८९ लाख ९० हजार मूल्य तोकेर विक्री सुरु भएको छ । कम्पनीले यसको डिलिभरी पनि सुरु गरिसकेको छ ।
फक्सवागेन आइडी ४ भने तत्काल नेपाल आउने छैन । फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले सन् २०२३ को अन्तिमसम्ममा यसलाई नेपाल ल्याउने प्रयास भने गरिरहेको छ । यद्यपि, कुन मितिमा नेपाल आउने छ भन्ने एकिन भएको छैन । अन्तर्राष्ट्रिय बजारमा एटो ३ जस्तै मूल्य रहेको कारण यसको मूल्य नेपालमा पनि उस्तै हुने अनुमान गर्न सकिन्छ ।

