जीपले ल्याउने भयो कम मूल्यको एसयूभी, नेपाल पनि आउने

काठमाडौं । अमेरिकी कम्पनी जीपले एभेन्जर नामबाट आफ्नो इन्ट्री लेभल मोडल एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यसलाई कम्बस्चन इन्जिन र इलेक्ट्रीक मोटरको साथ बजारमा ल्याउने भएको हो ।

केही दिनअघि भएको पेरिस मोटर शोमा एभेन्जर ईभीको कन्सेप्ट देखाएको जीपले यसको इन्टरनल कम्बस्चन इन्जिनको डिटेल भने बाहिर ल्याएको थिएन । अब, कम्पनीले यसमा १.२ लिटर टर्बो इन्जिन दिइएको जानकारी दिएको हो ।

जीपले एभेन्जरमा सिट्रोन सीथ्रीको टप स्पेकमा रहेको १.२ लिटर क्षमताको टर्बो इन्जिन दिएको हो । यसले १०० हर्सपावर प्रदान गर्छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टमको साथ आउने एभेन्जर जीपको सबैभन्दा कम मूल्यको एसयूभी हुनेछ ।

विशेषत बजेट कार खोज्ने देशहरुलाई मध्यनजर गर्दै तयार भएको जीप एभेन्जर सुरुमा यूरोपीयन बजारमा सार्वजनिक हुनेछ । त्यसपछि क्रमशः एशियाली बजारमा आउने छ ।

बेबी जीप कम्पास जस्तै देखिने एभेन्जरमा सेभेन स्लट ग्रिल दिइएको छ । एक्स आकारको एलइडी हेडल्याम्प, बोनेटको नजिकै दिइएको एलइडी डे टाइम रनिङ लाइट, १८ इन्चको मस्कुलर अलोय ह्वील, स्क्वायर अफटेल ल्याम्प जस्ता फिचर यसको बाहिरी भागमा पाउन सकिन्छ ।

जीपले एभेन्जरको ड्यासबोर्ड प्रिमियम फिल दिने किसिमले तयार गरेको छ । यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, बडी कलर स्ट्रीप प्यानल, एम्बीयन्ट लाइट, एडप्टीभ क्रुज कन्ट्रोल, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर रहने छन् ।

सुरुमा कम्बस्चन इन्जिन युक्त जीप एभेन्जर नेपाल नआएपनि इलेक्ट्रीक भर्सन भने सन् २०२३ मै नेपाल आउने अपेक्षा गरिएको छ ।


Back_to_top