प्रविधि र फिचरको फ्यूजन बीवाइडी, आक्रमक बजार विस्तारको लागि तयार

काठमाडौं । विश्वमा इलेक्ट्रीक कारको लोकप्रियतालाई टेस्लाले थप उचाई प्रदान गर्न सफल भयो । टेस्लाका संस्थापक अध्यक्ष तथा सीईओ इलन मस्कले विद्युतीय सवारीमा नयाँ प्रयोग मात्रै गरेनन्, आफुलाई विश्वकै धनी मानिसको पहिलो स्थानमा पुर्याए ।

विद्युतीय कारको विकासमा जुन रफ्तारमा चीनले काम गरिरहेको थियो, त्योभन्दा तिब्र रफ्तार मस्कले लिएका थिए । त्यसैले त टेस्ला विद्युतीय साधनको अग्रणी कम्पनी बन्न सफल भयो । तर, टेस्ला सिमित वर्ग र समूहका मानिस लक्षित मोडल उत्पादनमा केन्द्रित हुँदा अन्य मास मार्केटलाई लक्षित गरेर गाडी उत्पादन गर्नेहरु अगाडि बढे ।

अहिले समय फेरिएको छ । कार विक्रीमा टेस्लालाई चिनियाँ ब्राण्ड बीवाइडीले उछिनेको छ । बीवाइडी ब्याट्री इलेक्ट्रीक कारसँगै प्लगइन हाइब्रिड कारमा केन्द्रित भएको कारण आफ्नो विक्रीलाई तिब्र गतिमा बढाउन सफल भयो । बीवाइडीको विक्रीमा विश्वभर उछाल आउनुमा उसले गरेको ब्याट्री टेक्नोलोजीमा नयाँ इनोभेसन मुख्य कारण मानिन्छ ।

बीवाइडीले आफ्नो गाडीमा ब्लेड ब्याट्रीको प्रयोग थालेसँगै यसको सुरक्षा र लोकप्रियताको चर्चा सुरु भएको हो । अहिले पनि ब्याट्री इलेक्ट्रीक कारको विक्रीमा मात्रै हेर्ने हो भने टेस्ला नै अगाडि छ । तर, बीवाइडीको उत्पादन क्षमता र आक्रमक बजार रणनीतिको अगाडि टेस्लालाई आगामी दिन सहज भने छैन ।

बीवाइडीले आफ्नो नयाँ रणनीति सार्वजनिक गरिसकेको छ । कम्पनीले अब नयाँ हाइब्रिड टेक्नोलोजीमा आधारित मोडलको उत्पादन गर्ने छैन । अहिले विक्रीमा रहेका हाइब्रिड मोडल नै कम्पनीको अन्तिम मोडल हुनेछन् । यसको मतलव बीवाइडी ईभी उत्पादनमा थप आक्रमक हुनेछ । अहिलेसम्म कै लेटेस्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री, आफ्नै मोटर र ब्याट्री कन्ट्रोल सिस्टम उत्पादन तथा माग अनुसार सप्लाई गर्न सक्ने क्षमताको फाइदा बीवाइडीले पाउन थालेको हो । विश्वका ७० देशमा आफ्नो नेटवर्क सहित उपस्थिति जनाएको बीवाइडी प्रदुषण रहित सवारीसाधन निर्माताको पहिलो लहरमा उभिएको कम्पनी हो ।

सन् २०२२ लागेसँगै यूरोप, एशियाका ठूला बजारदेखि अमेरिकी बजारमा समेत आफ्नो दमदार उपस्थिति जनाएको बीवाइडी नेपालमा भने सन् २०१७ देखिनै विक्री वितरण हुँदै आएको थियो ।

साइमेक्स इंकले सुरुमा बीवाइडी इ६ ल्याएर विक्री वितरण गर्दै आएको थियो । त्यसपछि सन् २०२१ मा अल न्यू इ६ र एम ३ भ्यान ल्याएर विक्री सुरु गरेसँगै उपभोक्ताको रोजाईमा पर्न थालेको हो ।

सरकारी कार्यालयको पहिलो रोजाई

बीवाइडीको विक्री सुरु गरेसँगै साइमेक्स इंकले सरकारी कार्यालयमा गाडी विक्री योजना बनाएको देखिन्थ्यो । सुरुमा सरकारी सेवामा बसेर नीति बनाउने मानिसलाई चढाएपछि आम जनमानसमा सहजै विश्वास जगाउन सकिने सोचेर कम्पनीले सरकारी कार्यालयलाई प्राथमिकतामा राखेको थियो ।

‘हामी विद्युतीय कारको समय आयो भन्न चान्थ्यौं, तर आम नागरिकले सहजै यसलाई स्वीकार गर्लान वा नगर्लान भन्ने अन्योल अवस्था थियो । त्यसैले नीति निर्मातालाई प्रयोग गर्न लगाउनु पर्छ भन्ने लागेर त्यता केन्द्रित भयौं’, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।

श्रेष्ठका अनुसार त्यतिवेला राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, राष्ट्रपति कार्यालय जस्ता महत्वपूर्ण निकायमा इ६ विक्री गरेर नीति निर्मातालाई घच्घचाउने प्रयास भएको थियो ।

विकल्प दिदै बीवाइडी

विश्वकै ठूलो नयाँ इनर्जी भेहिकल उत्पादक बनेसँगै बीवाइडीले नयाँ विकल्प दिन थालेको छ । विश्वभर एकपछि अर्को दिन बीवाइडीले आफ्नो पहिलो ग्लोवल मोडल एटो ३ लञ्च गरिरहेको छ । नेपालमा पनि केही दिन अघि मात्रै एटो ३ को विक्री सुरु भएको हो ।

एटो ३ मूल्य र फिचरको हिसावले प्रिमियम मोडल बनेको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टको बढ्दो बजारमा बीवाइडी एटो ३ उत्कृष्ट विकल्पको रुपमा आएको छ । एटो ३ टेक्नोलोजी र फिचरहरुको फुल लोडेड मोडलको रुपमा नेपाल आएको हो ।

एटो ३ ले धेरै मानिसलाई बीवाइडीको शोरुममा लग्नेछ भने, अन्य प्रोडक्ट न्यू इ६ र एम ३ जस्ता मोडलको विक्री थप बढ्ने छ । साथै, साइमेक्सले सन् २०२३ मै डल्फीन र सिल जस्ता मोडल ल्याउने योजना बनाएको छ ।

बढ्यो नेटवर्क

सन् २०२१ सम्म बीवाइडी पार्क कन्सेप्टमा एक स्थानबाट मात्रै बीवाइडीका गाडी विक्री गर्दै आएको साइमेक्स इंकले आफ्नो डिलर नेटवर्क र सर्भिस नेटवर्क विस्तार गरिरहेको छ ।

काठमाडौं, चितवन, पोखरा, विर्तामोड, इटहरी, बुटवल, नेपालगंज, धनगढी लगायतका स्थानमा आफ्नो नेटवर्क विस्तार गरेको छ । यसले धेरै ग्राहकसँग जोडिन सहज हुने देखिन्छ ।

चार्जिङ नेटवर्कमा थप काम

अहिले बीवाइडीले देशका विभिन्न ११ स्थानमा एसी फास्ट चार्जर जडान गरेर सेवा दिइरहेको छ । चाँडै कम्पनीले डिसी फास्ट चार्जरमा पनि काम गर्न लागेको जनाएको छ । गाडीसँगै ७ किलोवाट क्षमताको चार्जर दिदै आएको कम्पनीले हरेक १५० किलोमिटरमा एउटा डिसी चार्जर लगाउने गरी योजना बनाइरहेको जनाएको छ ।

अन्त्यमा, बीवाइडी आफैंमा एउटा बलियो ब्राण्डको रुपमा विश्वभर पकड जमाउन थालिसकेको छ । नेपालमा पनि विगत ६ वर्षदेखि निरन्तर उपस्थित रहेको छ । मूल्य र टेक्नोलोजीका हिसावले अब्बल गाडी उत्पादन गर्दै आएको कम्पनीले थप नयाँ मोडल ल्याएर आफुलाई वलियो बनाउन सक्ने देखिन्छ । त्यसको लागि आयातकर्ता कम्पनीले विक्री र विक्रीपछि दिने सेवामा थप लगानी गर्नु पर्ने देखिन्छ ।


Back_to_top