काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारीसमा मन्त्रीपरिषदले साउन १ गतेबाट १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै सिमित कम्पनीका बाहेक अधिकांश ब्राण्डले विक्री गर्ने चल्तीका मोटरसाइकल आउन सकेका छैनन् ।
सुरुमा २५० सीसी माथिका मोटरसाइकल आयातमा मात्रै प्रतिवन्ध लगाएको सरकारले साउनदेखि एक्कासी १५० सीसी माथिका मोटरसाइकल आयात बन्द गरेको कारण बजारमा मोटरसाइकल पाउनै मुस्किल अवस्था आएको हो ।
सरकारले मंसिर २८ गतेसम्मको लागि आयात प्रतिबन्ध लम्ब्याएको छ । डलर संतिचिमा कमी आएको भन्दै आयात प्रतिबन्ध लगाउँदा नेपालमा एसेम्बल गर्ने बाहेकका कम्पनीलाई समस्या परेको हो । अहिले आयात प्रतिबन्ध रहेपनि बजाज र टीभीएसका ठूला मोटरसाइकल पनि नेपालमा एसेम्बल भइरहेका छन् ।
सरकारले आयात नै प्रतिबन्ध लगाएपनि १५० सीसीभन्दा माथिका मोटरसाइकल विक्री गर्ने सबै आधिकारीक विक्रेताहरु नेपालमै एसेम्बल गर्न प्लान्ट स्थापनमा जुटेका छन् । केही ठूला मात्रै मोटरसाइकल विक्री गर्ने शोरुमहरु बन्द हुन थालेका छन् ।
चिनियाँ मोटरसाइकल कम्पनी सिएफ मोटोले शोरुम बन्द गरेको छ । सिएफ मोटोले १६० सीसीभन्दा माथिका मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको थियो ।
त्यस्तै ३५० सीसीभन्दा माथिका मोटरसाइकल मात्र विक्री गर्ने कम्पनी रोयल इनफिल्डसँग पनि मोटरसाइकलको अभाव रहेको छ । कम्पनीका कम्यूनिकेशन हेड कल्पना भण्डारीका अनुसार क्लासीक ३५० दशैअघि नै सोल्ड आउट भइसकेको छ । कम्पनीसँग अहिले केही यूनिट मेटिअर ३५० मात्रै केही यूनिट बाँकी रहेको छ ।
रोयल इनफिल्डले नेपालमा मोटरसाइकल एसेम्बल प्लान्ट स्थापना गर्न काम अगाडि बढाएको छ । अब यो क्लासिक ब्राण्डको मोटरसाइकल नेपालमा किन्न कि आयात खुल्ला हुनु पर्छ कि नेपाल मै एसेम्बल ।
त्यस्तै, नेपाली बजारमा लोकप्रिय भइरहेको हिरोको एक्सपल्स २०० फोर भी मोडल पनि सोल्ड आउट भइसकेको छ । कम्पनीका मार्केटिङ मेनेजर सीतल दाहालका अनुसार आयात नखुलेको अवस्थामा तत्काल हिरो एक्सपल्स २०० फोर भी ग्राहकले किन्न पाउने अवस्था छैन ।
हिरोले पनि बारा जिल्लामा एसेम्बल यूनिट स्थापनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीले अबको केही महिना भित्रै नेपालमा मोटरसाइकल तथा स्कुटर एसेम्बल थाल्ने छ । त्यसपछि आयात प्रतिबन्ध नखुलेको खण्डमा पनि हिरोले मोटरसाइकल ल्याउने छ ।
त्यस्तै, होन्डाले नेपाल भित्र्याएको सीबी ३५० सिरिज सोल्ड आउट भएको धेरै भइसकेको कम्पनीले जनाएको छ । रोयल इनफिल्डको प्रतिस्पर्धी मोटरसाइकल सीबी ३५० हाइनेस र सीबी ३५० आरएस किन्न चाहाने ग्राहकले आयात प्रतिबन्ध हट्ने समयसम्म पर्खनु पर्ने बाध्यता रहेको कम्पनीको भनाई छ ।
विशेषगरी लामो र एड्भेन्चर यात्राको लागि प्रयोग हुने मोटरसाइकलहरु अहिले आयात प्रतिबन्ध गरिएको कारण आउन सकेका छन् । बीएमडब्लू, बेनेली, डुकाटी, यामाहा एफजेड २५, क्रसफायर, टेकन जस्ता ब्राण्डसँग पनि सिमित संख्यामा मात्रै मोटरसाइकल उपलब्ध रहेका छन् ।


