४० लाखभन्दा कम मूल्यका ४ कार नेपाल आउँदै, तपाईको रोजाईमा कुन ?

काठमाडौं । अहिले आयात प्रतिबन्धको कारण ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने नयाँ कार नेपाल आउन पाएका छैनन् । यस बीचमा भारतमा विभिन्न ब्राण्डले करिब १५ मोडल बजारमा ल्याइसकेका छन् ।

चैतको तेस्रो साताबाट आयात बन्द भएको थियो । सरकारले सूचना नै निकारलेर भने बैशाख १४ गतेबाट निजी कार आयातमा प्रतिबन्ध लगाएको थियो । यस बीचमा मारुती सुजुकी, हुन्डाई, टाटा, सिट्रोन, महिन्द्रा, जीपदेखि स्कोडासम्मले भारतमा नयाँ मोडल बजारमा ल्याएका छन् । यी सबै ब्राण्डका नयाँ मोडल नेपाल आउने भएपनि त्यसको लागि आयात खुल्ला हुनु पर्छ ।

सरकारले संसिर २८ गतेसम्मको लागि आयात प्रतिबन्ध यसअघि नै घोषणा गरिसकेको छ । मंसिर ४ गतेको निर्वाचन र अहिले बजारमा देखिएको केही तरलता सहजसँगै बढ्दो डलर संचितिको कारण मंसिर २८ गतेपछि आयात खुल्ने संकेत देखापरेको छ ।

यदि मंसिर २८ गतेपछि आयात खुल्ने हो भने ३५ लाख रुपैयाँभन्दा कम मूल्य पर्ने ४ नयाँ मोडल नेपाल आउने देखिएको छ । ग्राहकले कुरेर बसेका नयाँ मोडलमा टाटा, सिट्रोन, र हुन्डाईका नयाँ गाडी छन् ।

१. टाटा टियागो ईभी

टाटा टियागो ईभी आयात प्रतिबन्धसँग सम्बन्धीत नभएपनि चाँडै नेपाल आउने मोडलमा पर्छ । सिप्रदी ट्रेडिङले फेब्रुअरीको सुरुवातमै नेपाल ल्याउने योजना बनाएको टियागो सबैभन्दा कम मूल्यको ह्याचव्याक कारको रुपमा बजारमा आउने छ ।

टाटाले टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । टियागो ईभी सानो कार भएता पनि ईभीमा डीसी फास्ट चार्जीङ सपोर्ट गर्नेगरी बनाइएको छ । यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ ।

कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ । तर, यसको बास्तविक रेन्ज २०० किलोमिटर हाराहारी हुनेछ ।

यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टा गतिमा गुड्ने क्षमता राख्छ । टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोडमा उपलब्ध हुनेछ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड रहेको छ ।

टियोगो ईभीमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रूज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट/स्टप जस्ता फिचरहरू रहेका छन् ।

२. टाटा पन्च

बैशाख अन्तिमसम्ममा नेपालमा विक्री सुरु गर्ने योजना सहित सिप्रदी ट्रेडिङले पन्चको लन्चिङ योजना बनाएको थियो । तर, बजारमा देखिएको तरलता संकट र गाडी अयातमा लगाइएको प्रतिबन्धको कारण यसको विक्री सुरु हुन पाएन ।

कम्पनीले अहिले प्रतिबन्ध जारी रहेको कारण यसलाई विक्री सुरु गर्न सकिरहेको छैन । माइक्रो एसयूभी सेग्मेन्टमा तयार भएको पन्च भारतमा निकै सफल भएको छ । औषतमा मासिक १० हजार यूनिट पन्च भारतमा विक्री भइरहेको कारण नेपालमा पनि यसलाई कुरेर बस्नेहरु छन् ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर यसमा रहेको छ ।

रिभर्स क्यामेरा, व्याक सेन्सर, पुस बटम स्टार्ट÷स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील फिचरले पन्चलाई प्रिमियम बनाएको छ ।

३. सिट्रोन सीथ्री

फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो कार सीथ्री मूल्यको कारण नै चर्चामा रहेको मोडल हो । भारतमा ५ लाख ७० हजार सुरुवाती मूल्यसहित विक्री सुरु भएको सी थ्री नेपालमा पनि धेरैले प्रतिक्षा गरिरहेको मोडल हो ।

सिट्रोनले आफ्नो सब फोर मिटर कारलाई १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याएको छ । सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

धेरै हदसम्म सिट्रोन सि फाइभबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।

सिथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।

४. हुन्डाई भेन्यू फेसलिफ्ट

कोरियन अटोमोवाइल कम्पनी हुन्डाई मोटर्सको सफल सब फोर मिटर एसयूभी भेन्यूको फेसलिफ्ट मोडल पनि ४० लाखभन्दा कम मूल्यमा विक्री सुरु हुने गाडीमा पर्छ । भारतमा निकै राम्रो विक्री पाइरहेको फेसलिफ्ट भेन्यू नेपालमा पनि प्रतिक्षा भइरहेको मोडल हो ।

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यू फेसलिफ्ट आयात खुल्ला भएसँगै नेपाल ल्याउने छ ।

पहिलेको तुलनामा नयाँ भेन्यूमा थुप्रै फिचर थप भएर आएका छन् । सबैभन्दा पहिला देखिने हेडलाइट र टेललाईटमा ब्यापक परिवर्तन भएको छ । नयाँ भेन्यूमा स्प्लीट हेडल्याम्प, नयाँ डिजाइनको एलइडी डिआरएल र टर्न इन्डिकेटर पनि नयाँ डिजाइनको दिएको छ ।

नयाँ भेन्यूको फ्रन्टभन्दा बढी रियरमा परिवर्तन देख्न सकिन्छ । यसको टेललाइट अब सिंगल डिजाइनमा आएको छ । दुबैतर्फको टेललाइटलाई एउटा एलइडी लाइटको स्टीपले जोडेको छ । लाइटका अलावा भेन्यूमा अगाडि र पछाडिको बम्पर, फ्रन्ट ग्रिल तथा अलोय ह्वीलसमेत रि–डिजाइन भएको छ ।

फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध भेन्यूमा ड्राइभका लागि थप रोमान्चक बनाउन स्पोर्टस, नर्मल र ईको गरी तीनवटा ड्राइभ मोड दिइएको छ ।

नयाँ भेन्यूलाई ड्राइभ गर्नू अघि चालकले आफ्नो सिट इलेक्ट्रीक पावरवाट सजिलै एट्जस्ट गर्न सक्नेछन् । नयाँ भेन्यूमा पुरानै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमलाई निरन्तरता दिइएको छ । तर, यसमा साउन्ड अफ नेचर फिचर थप भएको छ । कम्पनीले अब यसमा ब्लुलिङ कनेक्टीभिटी सहित ६० किसिमको कनेक्टेड फिचर दिएको छ ।

नयाँ भेन्यू फेसलिफ्टमा अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ दिएको छ । यसले कन्ट्रोल सेलेक्ट कार फिचर, रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फर्मेसन, फ्यूल लेभल इन्फर्मेसन, स्पीड अलर्ट, टाइम फेन्सीङ अलर्ट , आइडल टाइम अलर्ट जस्ता फिचर थपेको छ ।

 


Back_to_top