काठमाडौं । भारतीय बजारमा महिन्द्राले निकै राम्रो ग्रोथ पाइरहेको छ । यूरोपियन र जापानी ब्राण्डको कमजोर प्रदर्शन जारी रहँदा महिन्द्राले भने चमत्कारीक ग्रोथ पाउन सफल भएको हो ।
नेभेम्बर महिनाको विक्री तथ्यांक सार्वजनिक भएसँगै महिन्द्राको बलियो उपस्थितिलाई थप बल पुगेको हो । कम्पनीले भारतमा विक्री गर्ने लगभग सबै मोडल एसयूभी हो भन्दा फरक पर्दैन । कम्पनीले इलेक्ट्रीकमा विक्री गर्ने इभेरिटो सेडान र माराजो एमपीभी बाहेक अन्य सबै एसयूभी हुन् ।
महिन्द्राले अहिल्लो वर्षको तुलनामा नोभेम्बर महिनाको विक्रीमा ५६ प्रतिशतको वृद्धि भेट्टाउन सफल भएको छ । कम्पनीले सन् २०२१ नोभेम्बरमा १९ हजार ४०० यूनिट गाडी विक्री गरेकोमा यस वर्ष ३० हजार २६६ यूनिट गाडी विक्री गरेको हो ।
महिन्द्राले नोभेम्बरमा सबैभन्दा धेरै बोलेरो विक्री गरेको छ । कम्पनीले नोभेम्बरमा ७ हजार ९८४ यूनिट बोलेरो विक्री गरेको थियो । साथै, कम्पनीको नयाँ मोडल एक्सयूभी ७०० को विक्री ५ हजार ७०१ यूनिट हुँदा, एक्स्यूभी ३०० को विक्री ५ हजार ९०३ र स्कर्पियो मोडलको विक्री ६ हजार ४५५ यूनिट भएको छ ।
स्कर्पियो एन र फेसलिफ्ट क्लासिक स्कर्पियो बजारमा आएसँगै यसको विक्री ९२ प्रतिशतले बढेको छ । महिन्द्रा थारको विक्री पनि २५ प्रतिशतले बढेर ३ हजार ९८७ यूनिट पुगेको हो । महिन्द्राले भारतमा विक्री गर्ने अल्टुरस जी फोरको भने ९४ प्रतिशतले विक्रीमा गिरावट आएको छ । कम्पनीले अल्टुसर ५ यूनिट मात्रै विक्री गरेको छ ।


