काठमाडौं । टाटा मोटर्सको लागि सन् २०२२ निकै अर्थमा सफलताको नयाँ अध्याय लेख्न प्रयाप्त रह्यो । सन् २०२२ मा कम्पनीले ५ लाख २५ हजार यूनिट कार उत्पादन र विक्री गर्दै भारतको तेस्रो ठूलो कार निर्मातामा बलियो उपस्थिति कायम गर्न सफल भयो ।
दोस्रो स्थानमा रहेको हुन्डाई र टाटाले लगभग बराबर जस्तै बजार हिस्सा ओगट्न सफल भएको देखिन्छै । दुई कम्पनी मध्ये टाटाको बजार हिस्सा १४ र हुन्डाईको बजार हिस्सा १५ प्रतिशत हाराहारी रहने अनुमान गरिएको छ ।
टाटाले सन् २०२१ मा ३ लाख ३१ हजार यूनिट कार विक्री गरेकोमा सन् २०२२ मा ५९ प्रतिशतले उत्पादन र विक्री बढाउँदै दोस्रो स्थानमा रहेको हुन्डाईलाई कडा टक्कर दिएको हो । हुन्डाईले सेमी कन्डक्टरको समस्या झेल्दै आफ्नो उत्पादन कटौती गर्नु र टाटाले आक्रमक उत्पादन वृद्धि गर्दा दुई ब्राण्ड बीचको बजार हिस्सा बराबरीमा आइपुगेको हो ।
टाटाले कार उत्पादन सुरु गरेको २४ वर्षमा अहिलेसम्म पाएको सबैभन्दा धेरै उत्पादन र विक्री संख्या नै सन् २०२२ कै हो । विशेषगरी टाटा नेक्सनको बढ्दो माग, पन्चको सफलता र ह्यारीयर तथा सफारी जस्ता ठूला एसयूभी मोडलले पाएको विक्री सफलताले टाटालाई एसयूभी सेग्मेन्टमा बलियो बनायो । साथै, ह्याचव्याक र सेडानमा पनि कम्पनीको अवस्था मजबुद रह्यो ।
टाटाको सफलतामा विद्युतीय कारको सहयोग पनि निकै राम्रो देखिन्छ । कम्पनीले नेक्सन ईभी र टिगोर ईभीको सहायताले भारतमा ८४ प्रतिशतसम्म ईभीको बजार हिस्सा लिन सफल भएको छ । यसले समग्रमा टाटालाई प्रतिस्पर्धीको बीचमा बलियो बनाउन भूमिका खेल्यो ।
नेपालमा पनि टाटाको लागि सन् २०२२ सबैभन्दा उत्कृष्ट वर्ष सावित भएको छ । कम्बस्चन इन्जिन युक्त कारको आयात प्रतिबन्ध लाग्नु तथा बजारमा तरलता अभाव हुनु र ईभीको लागि कर्जा उपलब्ध सहज हुँदा टाटाका ईभीले राम्रो बजार पायो । टाटाले दिएको ईभी सप्लाईको कारण पनि नेपालमा पनि उसलाई सबैभन्दा बढी ईभी विक्री गर्न सहज भयो ।
सन् २०२२ मा एक हजार २८२ यूनिट नेक्सन र टिगोर ईभी नेपाल आयात भएको देखिन्छ । यसले टाटाको लोकप्रियतालाई बढ्दै गएको इंगित गर्छ ।


