टर्बो इन्जिनमा आउँदै एक्सयूभी ५००, क्रेटा र सेल्टोससँग सिधा प्रतिस्पर्धा

सांकेतिक तस्विर

काठमाडौं । विगत दुई वर्षमा एकपछि अर्को सफल मोडल बजारमा ल्याएको महिन्द्रा एण्ड महिन्द्राले अर्को मोडल बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले एक्सयूभी-५०० लाई पूर्णत नयाँ डिजाइन र फिचरको साथ बजारमा ल्याएर हुन्डाई क्रेटा र किया सेल्टोसलाई टक्कर दिने तयारी थालेको हो ।

महिन्द्राले पछिल्ला दिनमा ल्याएको एक्सयूभी-७००, नयाँ जेनेरेशन थार, एक्सयूभी-३०० फेसलिफ्ट र स्कर्पियो एन मोडलले बजारमा निकै राम्रो विक्री पाइरहेको छ । कम्पनीले यही जनवरी महिनामा पहिलो इलेक्ट्रीक एसयूभी पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।

महिन्द्राको इलेक्ट्रीक मोडल एक्सयूभी-४०० जनवरीबाट बजारमा विक्री सुरु हुनेछ । त्यसपछि कम्पनीले आफ्नो सफल मोडल एक्सयूभी-५०० लाई नयाँ फिचर, डिजाइन र लग्जरी बनाएर ल्याउने छ । नयाँ मोडललाई बजारमा ल्याउने मिति भने एकिन भएको छैन । तर, महिन्द्राले नयाँ मोडलको परिक्षण भने गरिरहेको छ ।

सन् २०११ मा पहिलो पटक बजारमा आएको एक्सयूभी-५०० त्यसपछि एक पटक फेसलिफ्ट भएर आएको थियो । त्यसपछि यसमा कुनै पनि परिमार्जन भएको थिएन । एसयूभीको बढ्दो क्रेजलाई क्यास गर्न महिन्द्राले नयाँ जेनेरेशन एक्सयूभी-५०० ल्याउन लागेको हो ।

महिन्द्राको हेड डिजाइनर प्रताप बोसले एउटा तस्विर सार्वजनिक गर्दै नयाँ मोडल तयार हुँदै गरेको जानकारी दिएका हुन् । नयाँ एक्सयूभी-५०० को फ्रन्ट फेसिया धेरै हदसम्म एक्सयूभी-७०० बाट प्रेरित रहने छ । सुरक्षाको लागि विशेष प्राथमिकता दिएर उत्पादन हुने नयाँ मोडलमा सुरक्षाको लागि एडास फिचर समावेस हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले पहिलो पटक १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा एक्सयूभी-५०० लाई ल्याउने अनुमान गर्न सकिन्छ । यसमा दिइने इन्जिनले अधिकतम १६१ पीएस पावर प्रदान गर्नेछ ।


Back_to_top