पाँच महिनामा ईभी आयातः चीनलाई उछिन्यो कोरियाले, भारतवाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा १ हजार ३५८ युनिट विद्युतीय कार नेपाल आएको छ । भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको एक हजार ३५८ यूनिट विद्युतीय साधन नेपाल आएका हुन् ।

अघिल्लो वर्षको ५ महिनामा ९१३ युनिट विद्युतीय गाडी आयात भएकोमा यो बर्ष ४४५ यूनिट ईभी बढी आयात भएको हो । कम्बस्चन इन्जिन भएका कारको आयात प्रतिबन्ध हुँदा पनि विद्युतीय गाडीको आयात हुन सकेको छैन ।

अघिल्ला वर्षहरुमा सबैभन्दा धेरै ईभी चीनबाट आउने गरेको थियो । तर, यो वर्ष चीनबाट आउने गाडीको संख्यामा निकै ठूलो गिरावट आएको छ । चीनबाट १९८ युनिट विद्युतीय गाडी आयात हुँदा कोरियाबाट २०२ यूनिट कार आयात भएको देखिन्छ ।

कोरियाबाट हुन्डाईका कार आयात भइरहेका छन् । हुन्डाईले कोना र आयोनीक ५ ल्याएर विक्री गर्दै आएको छ । चीनबाट बीवाइडी, एमजी, नेटा भी, हेनरी, लगायतका ब्राण्डले गाडी ल्याएका छन् ।

यो वर्ष सबैभन्दा धेरै भारतबाट ९४६ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । भारतबाट आयात हुने अधिकांश सबै गाडी टाटाले उत्पादन गरेका नेक्सन र टिगोर ईभी हुन् ।

चालु आवको पाँच महिनामा अमेरिकाबाट ४ वटा गाडी आयात भएका छन् । भने, इन्डोनेसियाबाट ३ वटा ईभी आयात भएको देखिन्छ ।


Back_to_top