रेनोको गुपचुप तयारीः तयार हुँदै ‘काइगर ईभी’

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी रेनोले गुपचुप काइगर ईभी तयार गरेको रिपोर्टहरु सार्वजनिक भएका छन् । भारतको बैंगलोर सहरमा इलेक्ट्रीक भर्सनको रेनो काइगर परिक्षण भइरहेको तस्विरहरु सार्वजनिक भएसँगै भारतीय मिडियाले रेनोको सर्प्रइज भनेर टिप्पणी गरेका हुन् ।

परिक्षणका क्रममा देखिएको काइगर ईभी विद्युतीय सवारीको स्टार्ट-अप कम्पनी प्रवेग डायनामिक्सबाट विकास भएको देखिन्छ । यस विषयमा रेनोको कुनै आधिकारीक धारणा बाहिर आएको छैन ।

रेनोको आधिकारीक धारणा नआएको कारण काइगर ईभी सम्भवत दुई सम्भावना बोकेर निर्माण गरिएको हुन सक्ने अटो कार इन्डियाले जनाएको छ । तर, अन्य मिडियाले रेनोको ब्राण्ड नेममा नै काइगर ईभीको तयारी भइरहेको दावी गरेका छन् ।

प्रवेगले काइगरको कम्पोनेन्टहरु रेनोसँग लिएर आफ्नो इलेक्ट्रीक पावर ट्रेन प्रयोग गरेको हुन सक्ने आँकलन गरिएको छ । प्रवेगले ईभीको लागि चाहिने ब्याट्री, मोटर र ब्याट्री म्यानेजमेन्ट सिस्टम निर्माण गर्न लागि परेको जनाएको थियो ।

रेनो र उसको साझेदार ब्राण्ड निसानले अझै भारतीय प्लान्टको क्षमता अनुसार गाडी उत्पादन गर्न सकिरहेका छैनन् । यस्तोमा प्रवेगको केही सहयोग लिएर कम्पनीले काइगर ईभी तयार गरेको अनुमान गरिएको छ ।

इलेक्ट्रीक काइगरको अगाडिको लोगो भित्र चार्जिङ पोर्ट देखिन्छ । साथै, अगाडिको ईभी प्रेरित ग्रिलबाट सहजै ईभी भनेर जनाउ दिनेछ । यसको पूर्ण विवरण नआएपनि २६.८ किलोवाट क्षमताको ब्याट्री रहेको बताइन्छ । यसले सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिनेगरी तयार भइरहेको दावी रिपोर्टमा गरिएको छ ।


Back_to_top